देश

कांग्रेस महाधिवेशन : असोज २० गते उम्मेदवारी, २२ गते मतदान

काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार असोज २० गते उम्मेदवारी दर्ता हुनेछ भने असोज २२ गते मतदान हुने भएको छ ।

निर्वाचन समितिका अनुसार आज असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । दाबी विरोधमाथि जाँचबुझ गरी बेलुका साढे ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । सोही दिन उम्मेदवारको पहिलो नामावली दिउँसो साढे ४ बजे र दोस्रो नामावली बेलुका ७ बजे प्रकाशन गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन वा उम्मेदवारी सच्याउन सक्नेछन् । त्यसपछि बिहान १० बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । सो दिन उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइनेछ ।

असोज २२ गते बिहान साढे ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले मतदानका लागि तीनवटा केन्द्र तोकेको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गलाई मतदान केन्द्र ‘क’, खुलामञ्चलाई ‘ख’ र प्रज्ञा भवन, कमलादीलाई ‘ग’ केन्द्र तोकिएको छ ।

मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन् । केन्द्र ‘ख’ मा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका मतदाताका लागि व्यवस्था गरिएको छ । केन्द्र ‘ग’ मा गण्डकी र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

निर्वाचन समितिले उम्मेदवारीका लागि मनोनयन दस्तुरसमेत तोकेको छ । सभापतिका लागि ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

सभापति पदका लागि १० जना प्रस्तावक र १० जना समर्थक, उपसभापति तथा महामन्त्रीका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक, सहमहामन्त्रीका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक तथा केन्द्रीय सदस्यका लागि ३ जना प्रस्तावक र ३ जना समर्थक आवश्यक पर्नेछ ।

उम्मेदवार हुन चाहेको पदमा अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाइने व्यवस्था पनि गरिएको छ ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ । वारेसमार्फत मनोनयन दर्ता गर्दा वारेसनामा र वारेसको नेपाली नागरिकताको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ ।

उम्मेदवारको नाम नेपाली वर्णानुक्रमअनुसार प्रकाशन गरिने र सोही क्रममा मतपत्रमा नाम राखिने निर्वाचन समितिले जनाएको छ । मतदान गर्दा मतदाताले आफूले रोजेको उम्मेदवारको नामअगाडि रहेको मत संकेत गर्ने कोठामा चिन्ह लगाउनुपर्नेछ ।

निर्वाचन समितिले प्रचारप्रसारका क्रममा उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, ब्याज, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याग, मास्क, लकेटलगायत सामग्री प्रयोग गर्न रोक लगाएको छ । तर उम्मेदवारी र सम्बन्धित पदबारे सामान्य जानकारी दिने पर्चा तथा पम्प्लेट वितरण गर्न भने पाइनेछ । मतदानस्थल आसपासमा पर्चा तथा पम्प्लेट राख्न भने निषेध गरिएको छ ।

निर्वाचन समितिले १५औँ महाधिवेशनको निर्वाचन निर्देशिका तथा आचारसंहिता पालना गर्न उम्मेदवार, प्रतिनिधि र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *