देश

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिनेछ। आजै दिउँसो ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ।

उम्मेदवारको दरखास्तमाथि दाबी विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय तोकिएको छ। दाबी विरोधमाथि ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ देखि १० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन वा उम्मेदवारी सच्याउन सक्नेछन्। त्यसपछि बिहान १० बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइनेछ।

असोज २२ गते बिहान ७ः३० देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

कांग्रेसले मतदानका लागि तीनवटा केन्द्र तोकेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गलाई मतदान केन्द्र ‘क’, खुलामञ्चलाई ‘ख’ र प्रज्ञा भवन, कमलादीलाई ‘ग’ तोकिएको छ।

मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। ‘ख’ मा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। मतदान केन्द्र ‘ग’ मा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।

निर्वाचन समितिले सभापति पदका लागि ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ मनोनयन दस्तुर तोकेको छ।

सभापति पदमा उम्मेदवारी दिन १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति तथा महामन्त्रीका लागि सात–सात जना, सहमहामन्त्रीका लागि पाँच–पाँच जना तथा केन्द्रीय सदस्यका लागि तीन–तीन जना प्रस्तावक र समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

उम्मेदवार हुन चाहेको पदमा अर्को व्यक्तिको प्रस्तावक वा समर्थक बन्न नपाइने निर्वाचन समितिले जनाएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रतिलिपि र वारेसमार्फत दर्ता गर्दा वारेसनामा तथा वारेसको नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ।

उम्मेदवारको नाम नेपाली वर्णानुक्रमअनुसार प्रकाशन गरिने र सोही क्रममा मतपत्रमा राखिनेछ। मतदानका क्रममा मतदाताले आफूले रोजेको उम्मेदवारको नामअगाडि रहेको मत संकेत गर्ने कोठामा चिन्ह लगाउनुपर्नेछ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार तथा समर्थकले फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, ब्याज, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याग, मास्क, लकेटलगायत प्रचार सामग्री प्रयोग गर्न पाउने छैनन्। उम्मेदवारी र सम्बन्धित पदबारे सामान्य जानकारी दिने पर्चा तथा पम्प्लेट भने वितरण गर्न सकिनेछ। मतदानस्थल आसपासमा पर्चा वा पम्प्लेट राख्न भने निषेध गरिएको छ।

यसैबीच, कांग्रेसको बन्द सत्रले सोमबार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने विधान संशोधन प्रस्ताव पारित गरेको छ। प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्।

तीन महामन्त्रीमध्ये एक जना महिला तथा चार उपसभापतिमध्ये एक जना महिला र एक जना समावेशी समूहबाट हुने व्यवस्था प्रस्ताव गरिएको छ। १५ सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन्। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *