देश

पार्टीलाई थप सुदृढ बनाए चुनौतीबाट माथि उठ्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई थप सुदृढ र संगठित बनाए वर्तमान चुनौती तथा धक्काबाट माथि उठ्न सकिने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढेको पार्टीलाई विभिन्न समयमा धक्का लाग्न सक्ने भए पनि त्यसबाट निराश हुन नहुने बताए।

उनले देश विकासको अभियानमा अघि बढिरहेको एमालेलाई विकास हुन नदिने शक्तिहरूले अवरोध सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गर्दै पार्टी पङ्क्ति फराकिलो सोचका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले देशमा प्रतिगमनका प्रवृत्ति देखिएको र पार्टीले पनि विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै सानातिना विवादमा अल्झिनुभन्दा संगठनलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने बताए। त्यसो गर्न सके एमाले पुनः सशक्त रूपमा उभिन सक्ने र विगतभन्दा अझ बलियो बन्न सक्ने उनको विश्वास थियो।

शपथग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्दै अध्यक्ष ओलीले उनीहरू समाजमा आदर्श व्यक्तित्वका रूपमा स्थापित हुनुपर्ने बताए। गलत आचरण त्याग्दै पवित्रता, शुद्धता, कम्युनिष्ट संस्कार, शालीनता र विनम्रता प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *