काठमाडौँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारले अघि सारेको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको भन्दै आलोचना गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा भइरहेका विवादास्पद नियुक्ति तथा निमित्त प्रमुखको लामो समयसम्मको निरन्तरताले सरकारको सुशासनको दाबीमाथि नै प्रश्न उठाएको बताइन् ।
सांसद खातुनले सरकारी निकायमा हुने नियुक्तिको प्रक्रिया, ढिलासुस्ती तथा त्यसमा हुने चलखेलप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियालाई उदाहरणका रूपमा प्रस्तुत गरिन् ।
उनका अनुसार परिषद्मा नियुक्तिका लागि सूचना प्रकाशित गरी तोकिएको समयभित्र अन्तर्वार्तासमेत सम्पन्न भइसकेको थियो । तर २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नगरी पुनः नयाँ प्रक्रिया सुरु गरेर आफू निकटका व्यक्तिलाई समेट्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् ।
खातुनले प्रश्न गरिन्, ‘सुशासनको नारा सरकारकै हो तर कस्तो सुशासन हो यो ? आफ्ना प्रिय पात्रलाई नियुक्त गराउनकै लागि प्रक्रिया लम्ब्याउने र जनतालाई झुक्याउने काम भइरहेको छ ।’
उनले सरकारको कार्यशैलीलाई ‘दिउँसै रात पार्ने’ प्रवृत्तिको संज्ञा दिँदै प्रक्रिया मिचेर गरिने नियुक्तिले कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पार्ने बताइन् ।
उनले कतिपय सरकारी विभागमा निमित्त प्रमुखको भरमा लामो समयदेखि काम भइरहेको विषयसमेत उठाइन् । एउटा निमित्त प्रमुख हुँदाहुँदै अर्को निमित्त ल्याउने वा लामो समयसम्म निमित्तकै भरमा विभाग सञ्चालन गर्ने सरकारको शैलीले सुशासनको दाबीलाई नै असान्दर्भिक बनाएको उनको भनाइ थियो ।




