काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको झोलुङ्गे पुलमा मंगलबार राति आएको बाढीले क्षति पुर्याएको भन्दै पुलको शीघ्र मर्मत तथा पुनर्निर्माणको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।
सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि आएको पहिरो र नदी कटानका कारण मुस्ताङका पूर्वाधारमा गम्भीर क्षति पुगेको बताए । कृषि पूर्वाधारमा समेत समस्या देखिएको उल्लेख गर्दै उनले लोमन्थाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बाढीपहिरोबाट बढी क्षति भएको जानकारी दिए ।
सांसद आरेन राईले मनाङमा गएको हिमपहिरोमा खोटाङका चार जना बेपत्ता रहेको जानकारी दिँदै उनीहरूको तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले त्रिपुरेश्वरमा भएको आगलागीमा परी निधन भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै संवाद नगरेको भन्दै तत्काल परिवारसँग समन्वय गर्न माग गरे ।
सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सरकारको पर्याप्त ध्यान पुग्न नसकेको बताइन् । उनले निकुञ्ज आसपासका बासिन्दाले वन्यजन्तुका कारण दुःख पाउने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरिन् ।
सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका दाङका नागरिकको शव विदेशमै रहेको जानकारी गराउँदै एकिन्द्र ओलीको दक्षिण कोरिया तथा वीरेन्द्र चौधरी र कमला विकको भारतमा निधन भएकाले शव नेपाल ल्याउने व्यवस्था गर्न माग गरे । नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देशमा पुगे पनि उनीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद सृजना श्रेष्ठले धरानका ५६ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव रहेको बताइन् । शिक्षक अभावको समस्या समाधानको माग गर्दै साना विद्यार्थीसमेत धर्नामा बसेको उल्लेख गर्दै उनले तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको भनिएको घटनाको विरोध गरिन् ।
त्यस्तै, सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।




