विश्व

हाइटीका राष्ट्रपति मोइस हत्याका १८ संदिग्ध अमेरिकी अदालतमा

सन् २०२१ मा हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका १८ जना संदिग्धलाई मुद्दा चलाउन हाइटीबाट अमेरिकाको फ्लोरिडा पुर्‍याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

५३ वर्षीय राष्ट्रपति मोइसको सन् २०२१ जुलाई ७ मा राजधानी पोर्ट–अ–प्रिन्सस्थित आफ्नै निजी निवासमा गोली हानी हत्या गरिएको थियो । घटनामा सैन्य तालिम प्राप्त करिब २० जना कोलम्बियाली भाडाका सैनिक संलग्न रहेको बताइएको छ । घटनाका बेला राष्ट्रपतिको सुरक्षा टोलीले उहाँलाई जोगाउन प्रभावकारी भूमिका निर्वाह नगरेको आरोपसमेत लागेको थियो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरोका विशेष अधिकारी ब्रेट स्काइल्सले विभिन्न स्थानमा गरिएको अन्तर्राष्ट्रिय पक्राउले हत्याको योजनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको बताउनुभएको छ ।

अमेरिकी सरकारी अभियोजक जेसन रेडिङ क्विनोन्सका अनुसार १८ जना संदिग्धलाई सैन्य विमानमार्फत हाइटीबाट अमेरिका ल्याइएको हो । उहाँका अनुसार मोइस हत्यासम्बन्धी घटनामा हालसम्म ३० जनाविरुद्ध अभियोग दर्ता गरिएको छ ।

अमेरिकामा ल्याइएकामध्ये जोसेफ फेलिक्स बाडियोलाई अनुसन्धानमा प्रमुख संदिग्धका रूपमा हेरिएको छ । उहाँ हाइटीको न्याय मन्त्रालयअन्तर्गत भ्रष्टाचारविरोधी निकायका पूर्व अधिकारी हुन् । हाइटी सरकार तथा प्रहरी स्रोतका अनुसार अन्य संदिग्धहरू अधिकांश कोलम्बियाली भाडाका सैनिक हुन् ।

कोलम्बियाको विदेश मन्त्रालयले हाइटीबाट आफ्ना १७ नागरिकलाई अमेरिकामा लगिएको पुष्टि गरेको छ । उनीहरूलाई अमेरिकामा पठाउने निर्णय वा प्रक्रियामा कोलम्बिया सरकारको कुनै प्रत्यक्ष संलग्नता नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

यसअघि मे महिनामा मियामीस्थित संघीय अदालतले मोइसको हत्या वा अपहरण गर्ने षड्यन्त्र, त्यसका लागि सहयोग उपलब्ध गराउने षड्यन्त्र तथा विदेशमा गैरकानुनी सैन्य अभियान सञ्चालन गर्न अमेरिकी तटस्थता कानुन उल्लंघन गरेको आरोपमा चार जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।

अमेरिकी अभियोजन पक्षका अनुसार ती चारै जना फ्लोरिडामा रहेको निजी सुरक्षा कम्पनीसँग सम्बन्धित थिए । मोइसलाई सत्ताबाट हटाएपछि आकर्षक सुरक्षा तथा अन्य ठेक्का प्राप्त गर्ने आश्वासन दिइएको कारण उनीहरू हत्याको योजनामा सहभागी भएको अभियोजन पक्षको दाबी छ ।

अमेरिकी भूमिमा हत्याको योजना बनाइएको र त्यससँग सम्बन्धित गतिविधि भएको भन्दै अमेरिकी अदालतले यस घटनामा मुद्दा चलाउने अधिकार पाएको हो । हालसम्म ११ जनाविरुद्ध अमेरिकी अदालतमा अभियोग दर्ता भइसकेको छ ।

मोइसको हत्यापछि हाइटीमा राजनीतिक अस्थिरता र सुरक्षा संकट थप गहिरिएको छ । अहिले हाइटीमा राष्ट्रपति पद रिक्त छ । सुरक्षा अवस्था अनुकूल भए आगामी डिसेम्बर १३ मा सन् २०१६ पछि पहिलोपटक राष्ट्रपति र संसदीय निर्वाचन गराउने तयारी भइरहेको छ । सोही दिन संविधान संशोधनसम्बन्धी जनमतसंग्रह गराउने योजना पनि छ ।

हाइटीको राजधानी पोर्ट–अ–प्रिन्सको करिब ८० प्रतिशत क्षेत्रमा सशस्त्र गिरोहको प्रभाव रहेको बताइएको छ । अपहरण, सशस्त्र लुटपाट र सवारीसाधन लुट्ने जस्ता हिंसात्मक घटनाले देशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ ।

गिरोह नियन्त्रणमा स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको समर्थनमा परिचालित सशस्त्र सुरक्षा बललाई पनि यसअघि तोकिएको समयअनुसार अक्टोबरसम्म पूर्ण रूपमा परिचालन गर्न नसकिने अधिकारीहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *