देश

छठपछि सरकारविरुद्ध मेची महाकाली पैदल यात्रा गर्ने सांसद सिंहको घोषणा

जनकपुरधाम। मधेशको समग्र विकाससहित शान्ति र समृद्धिका लागि सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सांसद अमरेश सिंहले मेची महाकाली पैदल यात्रा गर्ने भएको छ ।

आउँदो छठ पर्वको सुर्योदयको अर्घदान दिइने पारणका दिनदेखि माघे संक्रान्तिसम्म पैदल यात्रा गर्ने जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने वर्षौदेखि मधेशलाई विभेदमा पारिएको थियो । वर्तमान रास्वपा नेतृत्वको सरकारसँग मधेशी जनताको धेरै नै अपेक्षा थियो । तर ती अपेक्षामाथि कुठाराघात भइरहेको छ । मधेशी जनताले अत्यधिक मत दिएर झण्डै दुई तिहाईसम्म पु¥याएपनि पुरानौ विभेदकारी कांग्रेस, एमाले र माओवादी पार्टी जस्तै नै निस्केकाले सरकारलाई सचेत गराउन मेची महाकाली पैदल यात्रा कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा कार्यक्रम बारे जानकारी दिदैँ नेता सिंहले भने ‘म मधेशलाई एउटा राईजिङ्ग सनको रुपमा हेर्न चाहन्छु । त्यसैले छठपूजाको दोश्रो दिन उदाउँदो सुर्यको पुजा गरिने दिनदेखि जनकपुरधामबाट प्रारम्भ गरिनेछ ।’

कार्यक्रम बारे थप्दै उनले भने ‘छठ समाप्तका दिन ऐतिहासिक पवित्र जलाशय गंगासागरमा स्नान गरी एउटा माटोको गाग्रोमा त्यसको माटो बालुवा र पानी लिई जानकी मन्दिरबाट यात्रा प्रारम्भ गरिनेछ । त्यहाँबाट मेची नदिमा पुगेर ती नदीको माटो, बालुवा र जल ती गाग्रोमा मिसाई पैदल यात्रा गर्दै माघे संक्रातिका दिन महाकाली पुगेर त्यसमा समर्पण गरिनेछ ।’

जनकपुरधामबाटै प्रारम्भ गर्नुको कारण बारे उनले भने यो परापूर्वकालदेखि ज्ञान तथा धर्मको भूमि रहेको छ । यहाँ गरिएको वाचा पुरा हुन्छ । त्यसैले यहीँबाट प्रारम्भ गर्ने अठोट लिएको बताए । उनले चुनावअघिको कुरा स्मरण गर्दै भने यसअघि निर्वाचनको बेला यहीँको तिरहुतिया गाछीमा मैले मधेशी अनुहारका बालेन्द्र साहलाई प्रधानमन्त्री बनाएर छाडछु । बनाउन सकेनौ भने आत्मदाह गर्छु भन्ने प्रण लिएका थिए । त्यो पुरा भएकाले, पैदल यात्राको उद्देश्य पनि पुरा हुनेछ ।’

मधेशलाई राईजिङ्गग सन अर्थात यहाँ शान्ति, समृद्धिसहित अधिकार सम्पन्न देख्न चाहेको हुँ । मधेशीलाई राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पहुँच, यहाँ मेडिलक कलेज, गाउँ गाउँमा सडक रोजागरको अवसर र मोडल एग्रीकल्चर व्यवस्थाका लागि यो पैदल यात्राको प्रमुख माग सरकारसँग रहेको उनले जानकारी दिए ।

सत्तारुढ दलकै सांसद भई सरकारको विरोध गर्नुको औचित्य बारे पत्रकारहरुले राखेको जिज्ञासमा नेता सिंहले भने ‘म पार्टी वा सरकारका व्यक्तिको होइन सरकारले मधेशी विरुद्ध गरेका विभेद जस्तै महोत्तरीको बर्दिबासको मेडिकल कलेज खारेज, हुलाकी सडकमा बजेटमा कन्ज्युस्याई, मधेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु, हालै नियुक्ति गरिएको राजदूत नियुक्तिमा विभेद सहित मधेशीलाई राम्रो मन्त्रालय नदिई विवाद उद्योग मन्त्रालय दिएर उनको राजनीतिक समाप्त पार्ने खेलको विरोध गरेको हुँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *