अर्थ

दुई महिनामा सरकारको राजस्व सङ्कलन २५ अर्बभन्दा बढीले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारको राजस्व सङ्कलन २५ अर्ब रुपियाँभन्दा बढीले बढेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँ बढी हो ।

गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपियाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपियाँ गैरकर राजस्व रहेको कार्यालयले जनाएको छ ।

यस अवधिमा सरकारले अनुदान र अन्य प्राप्तिबाट पनि आम्दानी गरेको छ । कार्यालयका अनुसार भदौसम्म सरकारले पाँच अर्ब ५३ करोड सात लाख रुपियाँ अनुदान प्राप्त गरेको छ । यस्तै, अन्य प्राप्तितर्फ एक अर्ब ३७ करोड रुपियाँ आम्दानी भएको छ ।

राजस्व, अनुदान र अन्य प्राप्तिसहित भदौसम्म सरकारको कुल आम्दानी एक खर्ब ९० अर्ब १० करोड रुपियाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३० अर्ब रुपियाँ बढी हो ।

खर्च पनि बढ्यो

पहिलो दुई महिनामा सरकारको खर्च पनि गत आवको तुलनामा बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ९९ अर्ब ८३ करोड रुपियाँ खर्च गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब २० अर्ब रुपियाँ बढी हो ।

गत आवको भदौसम्म सरकारको कुल खर्च एक खर्ब ८० अर्ब ८१ करोड रुपियाँ थियो ।

कुल खर्चमध्ये चालुतर्फ एक खर्ब २२ अर्ब रुपियाँ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ सात अर्ब ६६ करोड ४८ लाख रुपियाँ खर्च भएको कार्यालयको विवरणमा उल्लेख छ ।

वित्तीय व्यवस्थातर्फ भने ७० अर्ब १३ करोड रुपियाँ खर्च भएको छ । यस्तो खर्च गत आवको भदौसम्म करिब ६० अर्ब रुपियाँ थियो । वित्तीय व्यवस्थातर्फको खर्च मुख्यतः सरकारले लिएको ऋणको साँवा भुक्तानीमा प्रयोग हुन्छ ।

विकास निर्माणका काममा हुने पुँजीगत खर्चको तुलनामा सरकारले लिएको ऋणको साँवा भुक्तानीमा हुने खर्च पछिल्ला वर्षमा बढ्दै गएको देखिएको छ ।

भदौसम्म सरकारको आम्दानीभन्दा खर्च नौ अर्ब ७० करोड रुपियाँ बढी देखिएको छ । यस्तो खर्च व्यवस्थापनका लागि सरकारले ऋण स्रोत परिचालन गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले आन्तरिक ऋण उठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *