देश

मोरङ कारागारमा छापा, १० लाख नगदसहित आठ फलामे रड बरामद

काठमाडौं । मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्दा ठूलो परिमाणमा नगद र फलामे रड बरामद गरेको छ। बिहीबार गरिएको खानतलासीका क्रममा कारागारभित्रबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद तथा लुकाएर राखिएको अवस्थामा आठ वटा फलामे रड फेला परेको प्रहरीले जनाएको छ। बरामद भएको रकम कारागारभित्र कसरी पुग्यो, कसको स्वामित्वमा थियो र फलामे रड कुन प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बरामद सामग्रीको स्रोत र त्यससँग जोडिएको सम्भावित योजनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए।

यसअघि मोरङ कारागारको ‘बी’ ब्लकमा केही कैदीबन्दी समूहले प्रभाव जमाउँदै आएको चर्चा थियो। सुरक्षा निकायलाई समेत सहज रूपमा प्रवेश गरी खानतलासी गर्न चुनौती हुने अवस्था रहेको बताइएको थियो। कारागार प्रशासनले त्यहाँको प्रभावशाली समूहलाई व्यवस्थापन गर्ने क्रममा दुई चरणमा गरी ३७ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेको थियो। भारतीय नागरिक चन्चल बर्मा र मनिष विकसहितका मुख्य व्यक्तिलाई अन्यत्र पठाएपछि कारागारको सुरक्षा अवस्था तुलनात्मक रूपमा सामान्य बनेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

त्यसपछि प्रहरीले ‘बी’ ब्लकमा केन्द्रित भएर खानतलासी तथा निगरानी बढाएको हो। पछिल्लो छापाका क्रममा भेटिएको नगद र फलामे रडले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठाएको छ। प्रहरीले बरामद सामग्रीको प्रयोग, त्यसको स्रोत र कारागारभित्र कुनै आपराधिक गतिविधिका लागि तयारी भइरहेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। साथै कारागारको आन्तरिक सुरक्षा थप कडा पार्दै नियमित निगरानी बढाइएको प्रहरीको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *