काठमाडौं । राष्ट्रियसभाको बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित गरिएको छ। बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि बैठक स्थगित गरिएको हो। बैठकको अन्त्यमा राष्ट्रियसभा अध्यक्षले अर्को बैठक भदौ ३१ गते सोमबार दिउँसो १ः१५ बजे बस्ने जानकारी गराएका छन्।
आजको बैठकमा सांसदहरूले नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, विपद् व्यवस्थापन तथा सरकारको कार्यशैलीलगायत विषयमा प्रश्न उठाएका थिए। उनीहरूले जनजीविकाका सवालमा सरकार थप गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका थिए।
यसैबीच, कानुनमन्त्री गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिबारे राष्ट्रियसभा बैठकमा स्पष्टीकरण दिएकी थिइन्। आफ्नो भनाइबाट सांसदहरूको भावनामा चोट पुगेको भए क्षमा माग्दै उनले आगामी दिनमा यस्ता विषयमा थप सचेत रहने बताएकी थिइन्।
मन्त्रीको स्पष्टीकरणपछि अध्यक्षले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठकको मिति र समय जानकारी गराएका हुन्।




