काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २४६ रनमै समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए ।
इशानले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।
नेपालको पारी रोक्ने क्रममा हङकङका एइजाज खानले चार विकेट लिए । यासिम मुर्तजाले दुई विकेट लिँदा किन्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २६१ रन बनाएको थियो । हङकङका बाबर हायातले उत्कृष्ट शतक प्रहार गर्दै ११७ रन बनाए । उनले १२७ बलमा सात चौका र सात छक्का प्रहार गरे ।
त्यस्तै एहसान ३५ रनमा अविजित रहे भने शाहिद वासिफले ४५ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । शेर मल्लले तीन विकेट हात पारे ।
नेपालमाथि जित निकाल्दै हङकङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।




