काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत वर्षको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
भदौ २३ गते संसद् भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाले ज्यान गुमाएको र सयौँ घाइते भएको स्मरण गर्दै पोखरेलले उक्त घटनाको एक वर्ष पूरा भएको बताएका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, सहज सेवा प्रवाह तथा सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने युवाहरूका माग जायज रहेको उल्लेख गरेका छन् ।
पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको नभई सामाजिक सञ्जाल सञ्चालन गर्ने संस्थाहरूलाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेको दाबी गरेका छन् । तर सरकारले आफ्नो नीतिबारे स्पष्ट रूपमा बुझाउन नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आउन पुगेको उनको भनाइ छ ।
शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै उनले आन्दोलनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । यही नै ‘जेन्जी आन्दोलन’को वास्तविक भावनाको सम्मान हुने उनको भनाइ छ ।
वर्तमान सरकार आन्दोलनको भावनाअनुसार नभई त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भएको पोखरेलले आरोप लगाएका छन् ।
उनले युवाहरूको वास्तविक भावनाको कदर गर्दै मुलुकमा सुशासन र विधिको शासन स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । एमाले युवाहरूका जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पोखरेलले विगतमा भएका कमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




