काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टेलिभिजन तथा ओटीटी प्रसारण अधिकार नेपाल क्रिकेट संघ ९क्यान० ले करिब ३२ करोड ४८ लाख रुपैयाँमा बिक्री गरेको छ । क्यानले नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजनलाई दिएको छ भने विश्वव्यापी ओटीटी प्रसारण अधिकार नेट टिभीले पाएको छ । सम्झौताअनुसार नेट टिभीले विश्वव्यापी प्रसारण अधिकारका लागि १८ करोड ४ लाख रुपैयाँ तिर्नेछ । यस्तै, हिमालय टेलिभिजनले नेपालभित्र प्रसारण गर्न १४ करोड ६४ लाख रुपैयाँमा अधिकार खरिद गरेको हो ।
दुवै अधिकारबाट क्यानले कुल ३२ करोड ४८ लाख रुपैयाँ प्राप्त गर्नेछ । क्यान स्रोतका अनुसार यो रकम एनपीएलको अघिल्लो संस्करणको तुलनामा बढी हो । एनपीएलका यसअघिका दुई संस्करणमा भारतीय खेल च्यानल स्टार स्पोर्ट्सबाट खेलहरूको प्रत्यक्ष प्रसारण हुँदै आएको थियो । पहिलो संस्करणमा डिसहोमको युट्युब च्यानलमार्फत नेपालका दर्शकले निःशुल्क रूपमा समेत खेल हेर्न पाएका थिए । दोस्रो संस्करणमा नेपालभित्रको प्रसारण अधिकार कान्तिपुर म्याक्सले लिएको थियो । त्यसबेला अन्तर्राष्ट्रिय प्रसारण स्टार स्पोर्ट्स तथा डिसहोमको ओटीटी प्लेटफर्मबाट गरिएको थियो । तेस्रो संस्करणमा पनि स्टार स्पोर्ट्सबाट प्रसारण हुने सम्भावना रहेको बताइएको छ ।
यसैबीच, क्यानले एनपीएलको तेस्रो संस्करणको टिकट बिक्रीसम्बन्धी अधिकार इसेवालाई दिएको छ । इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको हो ।
सम्झौताअनुसार टिकट बिक्रीबाट उठेको रकममध्ये ९५ प्रतिशत क्यानले पाउनेछ भने बाँकी ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछ । एनपीएल–३ को व्यावसायिक अधिकार बिक्रीबाट क्यानले उल्लेख्य आम्दानी गर्ने देखिएको छ ।




