देश

भोटेकोशी बाढीको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जलवायु परिवर्तनका कारण विकासशील मुलुकले बेहोर्नुपरेको जनधनको क्षतिको क्षतिपूर्ति विकसित तथा औद्योगिक राष्ट्रबाट प्राप्त हुनुपर्ने बताएका छन् । एमाले विशेष सङ्गठन कमिटीले काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै पोखरेलले भोटेकोशी बाढीबाट भएको ठूलो क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष क्षतिपूर्तिको माग अघि बढाउनुपर्ने धारणा राखे ।

उनका अनुसार विकसित राष्ट्रहरूले ठूला उद्योग तथा आणविक भट्टीबाट अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको प्रत्यक्ष असर नेपालजस्ता विकासशील देशहरूले भोगिरहेका छन् । त्यसबाट सिर्जित विपद्का कारण भएको जनधनको क्षतिको न्यायोचित सम्बोधन आवश्यक रहेको उनले बताए । ‘विकसित देशहरूले ठूला–ठूला उद्योग र आणविक भट्टीबाट अत्यधिक कार्बन उत्सर्जन गरे । त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,’ पोखरेलले भने, ‘हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्दछ । यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्दछ ।’

महासचिव पोखरेलले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेका नेता तथा जनसङ्गठनहरू निरन्तर परिचालित रहेको पनि बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेपछि राहत तथा उद्धारका गतिविधिलाई थप तीव्र बनाइएको उनको भनाइ छ । बाढी आएको समयदेखि नै पार्टीका नेता, कार्यकर्ता तथा जनसङ्गठनहरू उद्धार र राहतमा खटिएको उल्लेख गर्दै उनले प्रभावितसम्म आवश्यक राहत सामग्री पुर्‍याउने कामलाई पनि निरन्तरता दिइरहेको बताए ।

पोखरेलले अबको प्राथमिकता प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माण रहेको भन्दै त्यसका लागि सरकारलाई एमालेले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विगतका प्राकृतिक विपत्तिमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका क्षेत्रमा काम गरेको एमालेको अनुभवलाई रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा उपयोग गरिने बताए ।

‘एमालेमा विगतका विपत्तिमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता–कार्यकर्ता हुनुहुन्छ,’ पोखरेलले भने, ‘त्यो अनुभव हामी रसुवा र नुवाकोटका बाढीपीडित क्षेत्रमा प्रयोग गर्छौँ । सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *