मुख्य समाचार

पहिरोका कारण रुकुम पश्चिमका पाँच परिवार विस्थापित

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण रुकुम पश्चिमका विभिन्न स्थानमा पाँच परिवार विस्थापित भएका छन् भने चार घर जोखिममा छन् । यही भदौ १६ गते राति परेको वर्षाका कारण त्रिवेणी गाउँपालिका–७ पुर्नपानीमा पहिरो जाँदा चार घर जोखिम पर्नुका साथै करिब १३ रोपनी खेत बगाएको छ । पहिरोले स्थानीय पलबहादुर पुनको घर जोखिममा परेको छ । उहाँको करिब पाँच रोपनी खेत बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार पुनको आठ जनाको परिवारलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, पहिरोले स्थानीय अम्मर विकको घर जोखिममा परेको छ । उनको करिब तीन रोपनी खेत पहिरोले बगाएको छ । विकको परिवार छिमेकीको घरमा बसेको छ । त्यस्तै स्थानीय तुलाराम नेपालीको घर पनि पहिरोले जोखिममा पर्नुका साथै करिब तीन रोपनी खेत बगाएको छ । उनलाई आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक परियारले बताउनुभयो । पहिरोले स्थानीय खुमबहादुर विकको घर पनि जोखिममा परेको छ भने करिब दुई रोपनी खेत बगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *