देश

भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतमा करिब आठ हजार प्रहरी परिचालन

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले मंगलबारसम्म सात हजार ९९२ जना प्रहरी परिचालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनसँगै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा युनिटबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

नेपाल प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयबाट एक हजार ६०२ जना, बागमती प्रदेश प्रहरी कार्यालयबाट दुई हजार १८२ जना, गण्डकी प्रदेशबाट एक हजार ३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना प्रहरी खटिएका छन्।

त्यस्तै, नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७ जना, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट ४५० जना, प्रहरी शिक्षालयबाट ३५६ जना तथा अन्य युनिटबाट समेत प्रहरी परिचालन गरिएको छ।

आपत्कालीन समन्वय केन्द्र स्थापना

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमै ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।

विपद्सम्बन्धी सम्पूर्ण कार्यको समन्वय र तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४ घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ समेत गठन गरिएको प्रहरीले जनाएको छ।

अस्पताल र विमानस्थलमा विशेष फोकल डेस्क

विपद्मा घाइतेको उपचार तथा मृतकका परिवारसँग आवश्यक समन्वयका लागि विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष ‘फोकल डेस्क’ स्थापना गरिएको छ।

घाइतेहरूको उपचार भइरहेका तथा शव सङ्कलन गरिएका काठमाडौँसहितका विभिन्न अस्पतालमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना र काठमाडौँ मेडिकल कलेजमा पाँच जना प्रहरी खटाइएको छ।

त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन तथा घाइतेको विवरण सङ्कलनका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा आठ जना प्रहरी खटाइएको छ।

खोजीमा ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोन

बाढी प्रभावित क्षेत्रमा खोज तथा अनुसन्धानलाई तीव्र बनाउन प्रहरीले आधुनिक प्रविधिको समेत प्रयोग गरेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ।

पैदल पुग्न कठिन दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै, खोजीका लागि पाँच वटा तालिमप्राप्त कुकुर र सञ्चार सम्पर्क विच्छेद भएका क्षेत्रमा सूचना आदानप्रदानका लागि सात वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

घटनास्थल अनुसन्धान तथा मुचुल्का कार्यका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली तथा शवको डीएनए परीक्षणलगायत वैज्ञानिक परीक्षणका लागि फरेन्सिक विज्ञको विशेष टोलीसमेत खटाइएको छ।

घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

विपद्को मौका छोपेर अपराध गर्नेलाई पक्राउ

बाढीपछि चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।

यसक्रममा नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनका मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चितवन प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

त्यस्तै, बाढीले बगाएर धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा ल्याएको बैंकको नगद राख्ने सेफ तोडेर रकम हिनामिना गरेको आरोपमा २९ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

बाढीपीडितका नाममा नक्कली सामाजिक सञ्जाल पोस्ट बनाएर रकम असुल्ने प्रयास गरेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा एउटा बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।

यसैगरी, परेवाटार–मलेखु क्षेत्रको त्रिशूली नदी किनारमा अर्को एउटा नफोडिएको सेफ फेला परेको प्रहरीले जनाएको छ। मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको छ।

नारायणी किनारमा मात्रै ७५७ प्रहरी

बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ बढ्दै जाँदा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले विशेष सतर्कता अपनाएको जनाएको छ।

चितवनको नारायणी नदी आसपासमा मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ। यसका साथै बाढीका कारण उत्पन्न भौतिक अवरोध हटाउने तथा फेला परेका सामग्रीको व्यवस्थापनमा समेत प्रहरी सक्रिय रहेको छ।

नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, राहत वितरणको सहजीकरण र पीडितको उद्धारलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *