काठमाडौं। नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँटले ऐतिहासिक सफलता हात पारेका हुन् ।
मर्डकलाई ढाँटले स्प्लिट डिसिजनमा पराजित गरेका हुन्। ढाँटले २९–२८ को स्कोरमा जित हात पारे। एक जना निर्णायकले भने मर्डकको पक्षमा स्कोर गरेका थिए। दुई प्रतिस्पर्धीबिच १५ मिनेटसम्म कडा प्रतिस्पर्धा भएको थियो । रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्। रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए। गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।




