काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, पूर्वाधार पुनःसञ्चालन र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। प्रभावित बस्तीमा पुगेर बाढीबाट भएको भौतिक क्षतिको अवलोकन गरेपछि प्रधानमन्त्री नेतृत्वको टोली आजै काठमाडौँ फर्किएको हो।
रसुवाको भोटेकोशीबाट आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका छन्। बाढीपछि उनले उच्चस्तरीय बैठकमार्फत उद्धार, राहत तथा प्रभावित क्षेत्रको व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिएका थिए।
नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग बाढीबाट भएको क्षति र जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिएको थियो।
छलफलका क्रममा विस्थापित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने, बाढीका कारण अवरुद्ध सडक तथा अन्य पूर्वाधार यथाशीघ्र सञ्चालनमा ल्याउने र प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनालाई गति दिने विषयमा प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
स्थलगत निरीक्षणबाट प्राप्त विवरणका आधारमा तत्कालीन राहत तथा उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।
आवश्यक निर्देशन र स्थलगत निरीक्षण सम्पन्न गरी प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौँ फर्किएको हो।




