देश

सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै उच्च सतर्कता अपनाउनुपर्ने

काठमाडौँ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले भोटेकोशी बाढीबाट प्रभावित तथा सम्भावित डुबान क्षेत्रका नागरिकलाई अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरेका छन्।

उनले नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेका छन्।

“घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रमा सूक्ष्म अध्ययन भइरहेको छ,” भट्टराईले भने।

प्रारम्भिक अध्ययनअनुसार बुधबार बिहान ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहित ठूलो बाढी आएको देखिएको छ।

तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको केन्द्रले जनाएको छ।

बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले नदीको बहाव र आसपासका क्षेत्रमा निरन्तर निगरानी गरिरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *