देश

किरण थापामगरको नियुक्ति विवादमा अदालत प्रवेश, विपक्षीका नाममा कारण देखाऊ आदेश

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले दायर भएका दुई छुट्टाछुट्टै रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले निवेदकले माग गरेबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार, प्रमाण र कारण खुलाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

अदालतले तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन। अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई आगामी भदौ १० गते अदालतमा उपस्थित हुन भनिएको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

रिटमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका तत्कालीन संसदीय दलका नेता उद्धव थापाले दिएको समर्थन पार्टीको निर्णयविपरीत रहेको दाबी गरिएको छ। राप्रपा केन्द्रले उक्त समर्थन आधिकारिक नरहेको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको अवस्थामा पनि त्यसलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नियुक्ति बदरको माग गरिएको छ।

मुख्यमन्त्री थापामगरले भने एमाले, नेकपा र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसैबीच, मुख्यमन्त्री थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *