नेपालगञ्ज। बाँकेको भेरी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) सेवा नहुँदा गम्भीर अवस्थाका बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार आईसीयू सेवा अभाव र सीमित बेड क्षमताका कारण उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती थपिएको छ। आईसीयू सेवा गम्भीर बिरामी, दुर्घटनामा परेका घाइते तथा जीवन जोखिममा रहेका बिरामीको उपचारका लागि अत्यावश्यक मानिन्छ।
भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले अस्पतालको स्तरवृद्धि, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा सबै पक्षको साझा पहल आवश्यक रहेको बताए।
प्रतिनिधिसभा सदस्य केपी खनालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालको क्षमता विस्तार गर्नुपर्ने धारणा राखे।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल पश्चिम नेपालका नागरिकको उपचारको प्रमुख भरोसाको केन्द्र भएकाले यसको सेवा र पूर्वाधार थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुरेश चौधरी र सुस्मा स्वर्णकार, प्रदेशसभा सदस्य वादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङ, स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त सचिव डा. श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाई तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा. निरज भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए।




