पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा जारी आन्दोलन थप चर्किँदै गएको छ। आन्दोलनका क्रममा अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्, जसका कारण अस्पतालको सेवा थप प्रभावित भएको छ।
चिकित्सकहरूले आफ्नो राजीनामा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई बुझाएका हुन्। आन्दोलनका कारण अस्पतालको बहिरङ्ग सेवा प्रभावित हुँदा उपचारका लागि बिहानैदेखि पर्साका ग्रामीण क्षेत्रबाट आएका सेवाग्राहीहरू समस्यामा परेका छन्।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा भएको वार्तासमेत निष्कर्षविहीन बनेको छ। वार्ताका क्रममा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकको राजीनामा माग गरेका थिए।
चिकित्सकहरूको आरोपअनुसार वार्ता छाडेर बाहिरिन लागेका उनीहरूलाई एसपी पाठकले धक्कामुक्की गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षभित्र फर्काएका थिए, जसपछि विवाद थप चर्किएको हो।
गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आक्रोशित पक्षले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका डा. रामको हाल काठमाडौंमा उपचार भइरहेको छ।
उक्त घटनापछि चिकित्सकहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा सुरक्षित कार्य वातावरणको ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्।




