देश

क्यान पदाधिकारीलाई विदेश भ्रमणको चिन्ता, खेल र खेलाडीको वेवास्ता !

काठमाडौं । नेपाली क्रिकेट टोलीको व्यवस्थापनका लागि महत्वपूर्ण मानिने टिम म्यानेजरको जिम्मेवारी नेपाल क्रिकेट संघ ९क्यान० मा लामो समयदेखि विवाद र बहसको विषय बन्दै आएको छ। खेलाडीको सम्पूर्ण व्यवस्थापन सम्हाल्नुपर्ने जिम्मेवारीमा क्यानका पदाधिकारी तथा सदस्यहरूलाई पालैपालो विदेश पठाउने गरिएको आरोप लाग्दै आए पनि स्थायी र व्यावसायिक म्यानेजर नियुक्त गर्ने प्रक्रिया भने टुंगिन सकेको छैन। टिम म्यानेजरले खेलाडीको भिसा, टिकट तथा यात्रा कागजात व्यवस्थापनदेखि बसोबास, खानपान, यातायात र आयोजकसँगको समन्वयसम्मका काम गर्नुपर्ने हुन्छ। टोलीको दैनिक व्यवस्थापन तथा खेलाडीले आवश्यक सुविधा पाए-नपाएको अनुगमन पनि यही जिम्मेवारीअन्तर्गत पर्छ।

तर पछिल्ला वर्षमा राष्ट्रिय टोली तथा नेपाल ‘ए’ टोलीसँग टिम म्यानेजरका रूपमा क्यानका केन्द्रीय सदस्य र प्रदेश क्रिकेट संघका पदाधिकारीहरू विदेश जाने गरेका छन्। एसीसी प्रिमियर कप विजेता नेपाली टोलीसँग क्यानमा कार्यालय सहयोगीका रूपमा कार्यरत सुदीप कोइराला असिस्टेन्ट टिम म्यानेजरका रूपमा मलेसिया पुगेका थिए। गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्की पनि सोही भ्रमणमा टिम म्यानेजरको जिम्मेवारीमा थिए। पछिल्लो तीन वर्षमा सिनियर टोलीसँग मात्रै कार्की तीन पटक म्यानेजरका रूपमा विदेश गएको विवरण छ।

क्यानका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले पनि विभिन्न प्रतियोगितामा म्यानेजरको जिम्मेवारी पाएका छन्। विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणका लागि उनलाई म्यानेजर तोकिए पनि भिसा तथा नियुक्ति प्रक्रियामा भएको ढिलाइका कारण उनी जान सकेनन्। त्यस क्रममा नेपाली टोली म्यानेजरविहीन बनेको थियो।

त्यसपछि अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजमा सहभागी नेपाल ‘ए’ टोलीको म्यानेजरका रूपमा भने केसी अस्ट्रेलिया पुगे। उक्त भ्रमणमा केसी र सुदूरपश्चिम प्रदेश क्रिकेट संघका सचिव लक्ष्मण भट्ट दुवैलाई म्यानेजरको पत्र दिइएपछि विवादसमेत भएको थियो। पछि विवाद समाधान गरी दुवै जना अस्ट्रेलिया गएका थिए। टिम म्यानेजरको भूमिका केवल टोलीसँग विदेश यात्रा गर्नुमा सीमित हुँदैन। खेलाडीको यात्रा कागजातदेखि होटल, खाना, यातायात, प्रशिक्षण तथा प्रतियोगिता आयोजकसँगको समन्वयसम्मको व्यवस्थापन म्यानेजरले गर्नुपर्छ। खेलाडीले समयमा खाना र पर्याप्त आराम पाए-नपाएको, प्रशिक्षणका लागि आवश्यक सुविधा उपलब्ध भए–नभएको तथा टोलीको अनुशासन कायम भएको विषयमा समेत म्यानेजरले ध्यान दिनुपर्ने हुन्छ।

क्यानकै एक कार्यसमिति सदस्यले भने नाम उल्लेख नगर्ने सर्तमा केही म्यानेजरलाई आफ्नो जिम्मेवारीबारे समेत पर्याप्त जानकारी नहुने दाबी गरेका छन्। उनका अनुसार म्यानेजर नियुक्ति प्रक्रियामा व्यावसायिक दक्षतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। टिम म्यानेजरको कार्यशैलीलाई लिएर विगतमा प्रशिक्षकहरूले पनि प्रश्न उठाएका छन्। टी–२० विश्वकपका क्रममा व्यवस्थापन तथा सहयोगी कर्मचारीको भूमिकाबारे प्रशिक्षक तहबाट सार्वजनिक असन्तुष्टि व्यक्त भएको थियो। तत्कालीन नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथासले व्यवस्थापन र सहयोगी कर्मचारी पटकपटक परिवर्तन हुँदा टोलीका लागि दीर्घकालीन कार्यवातावरण निर्माण गर्न कठिन भएको बताएका थिए।

राष्ट्रिय टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि टोली व्यवस्थापनका लागि दक्ष र अनुभवी म्यानेजर आवश्यक रहेको बताएका छन्। उनका अनुसार टिकट, खानपान, बसोबास, प्रशिक्षण सुविधा र आयोजकसँगको समन्वयमा कमजोरी हुँदा त्यसको प्रभाव टोलीमा पर्न सक्छ। क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले यसअघि नै व्यावसायिक म्यानेजरको व्यवस्था गर्न सुझाव दिएको थियो। उनको भनाइमा फरक–फरक व्यक्तिलाई पालैपालो जिम्मेवारी दिनुभन्दा निश्चित योग्यता भएको व्यक्तिलाई स्थायी जिम्मेवारी दिन आवश्यक छ।

क्यानले स्थायी टिम म्यानेजर नियुक्तिका लागि २७ वैशाखमा आवेदन आह्वान गरे पनि प्रक्रिया कहाँ पुगेको भन्नेबारे स्पष्टता नभएको आवेदनकर्ताहरूको गुनासो छ। क्यानकै एक सदस्यले भने स्थायी म्यानेजर नियुक्त भएपछि पदाधिकारी तथा सदस्यको विदेश भ्रमणको अवसर प्रभावित हुने भएकाले आवेदन प्रक्रिया अघि नबढाइएको दाबी गरेका छन्। उनले म्यानेजर तथा असिस्टेन्ट कोचको जिम्मेवारीमा समेत नेतृत्व तहबाट भागबन्डा हुने आरोप लगाएका छन्। पूर्वअध्यक्ष पाण्डेले पनि क्यानमा राजनीतिक प्रभाव बढ्दा टिम म्यानेजर नियुक्तिमा भागबन्डाको प्रवृत्ति देखिएको आफ्नो बुझाइ रहेको बताएका छन्।

क्यानले भने पदाधिकारी तथा प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई टिम म्यानेजरका रूपमा पठाउनुको उद्देश्य विदेश भ्रमण मात्र नभएको बताएको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार जिल्ला तथा प्रदेश तहमा क्रिकेट विकासमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो जिम्मेवारी दिने परम्परा पहिलेदेखि नै रहेको हो। उनले म्यानेजरहरूले प्रशिक्षकसँग समन्वय गर्ने, टोलीलाई आवश्यक सहयोग गर्ने तथा भ्रमणसम्बन्धी प्रतिवेदन क्यानमा बुझाउने काम गर्दै आएको दाबी गरेका छन्।

स्थायी म्यानेजर नियुक्तिको विषयमा भने खड्काले क्यानको आर्थिक क्षमताका कारण समस्या रहेको बताएका छन्। उनका अनुसार सबै टोलीका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले स्थायी म्यानेजर राख्ने खर्च क्यानको आर्थिक अवस्थाले धान्न कठिन छ। तर पूर्वकप्तान मल्ल भने नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा अघि बढिसकेको अवस्थामा टोली व्यवस्थापनलाई पनि व्यावसायिक बनाउनुपर्ने बताउँछन्।

यसले क्यानमा टिम म्यानेजरको भूमिकालाई लिएर दुई फरक धारणा देखाएको छ –एकातर्फ क्रिकेटमा योगदान गरेका पदाधिकारी तथा सदस्यलाई अवसर दिने वर्तमान अभ्यास र अर्कोतर्फ टोलीको व्यवस्थापनलाई विशेषज्ञतामा आधारित बनाउनुपर्ने माग। स्थायी म्यानेजर नियुक्ति प्रक्रिया अघि बढ्ने वा वर्तमान प्रणाली नै निरन्तर रहने विषय भने अझै स्पष्ट हुन सकेको छैन।

क्यानका पदाधिकारी तथा सदस्यहरूको विवरण :

नाम पद पटक
विक्रम विष्ट केन्द्रीय सदस्य
श्रीधर केसी केन्द्रीय सदस्य, कर्णाली सचिव, सुर्खेत अध्यक्ष
सुमनराज कार्की गण्डकी प्रदेश सचिव
जयन्तीदेवी भट्ट केन्द्रीय सदस्य
आयुष श्रेष्ठ केन्द्रीय सदस्य
सुभाष जैसवाल मधेस प्रदेश कोषाध्यक्ष, बारा सचिव
वीरेन्द्रबहादुर चन्द केन्द्रीय सदस्य, कञ्चनपुर अध्यक्ष
प्रदीप मजगैयाँ केन्द्रीय सदस्य
चेतनाथ पौडेल सुनसरी तत्कालीन अध्यक्ष
अजयवीर पाण्डे काठमाडौं जिल्ला उपाध्यक्ष
विनय राजभण्डारी कावा अध्यक्ष, लुम्बिनी प्रदेश
प्रबल गौतम लजिस्टिक म्यानेजर
नरसिंह बुढाल एकाउन्टेन्ट
अर्जुन पौडेल केन्द्रीय सदस्य, इलाम अध्यक्ष
खड्गजङ्ग शाही कर्णाली प्रदेश उपाध्यक्ष, कालिकोट अध्यक्ष
माधवकुमार कर्माचार्य केन्द्रीय सदस्य, सर्लाही अध्यक्ष
दिनेश सिंह सुदूरपश्चिम कोषाध्यक्ष, डोटी अध्यक्ष
स्व. सञ्जीव बीसी दैलेख अध्यक्ष
टीकाराम पुरी कोशी प्रदेश सचिव
करण महतारा क्षेत्री केन्द्रीय सदस्य, मकवानपुर अध्यक्ष
राजेश महर्जन भेन्यु अपरेसन
दिवाकर घले केन्द्रीय सदस्य, काठमाडौं अध्यक्ष
विष्णुप्रसाद आचार्य बागलुङ अध्यक्ष
सुनीलकुमार महासेठ मधेस प्रदेश अध्यक्ष, सिराहा अध्यक्ष
सर्वजितराज पाण्डे कोशी प्रदेश अध्यक्ष
लक्ष्मण भट्ट सुदूरपश्चिम प्रदेश सचिव
बासुदेव जोशी सुदूरपश्चिम प्रदेश अध्यक्ष, डडेलधुरा अध्यक्ष
हरिप्रसाद रेग्मी सुदूरपश्चिम प्रदेश तत्कालीन अध्यक्ष
रूपक रञ्जित भक्तपुर तत्कालीन अध्यक्ष
शम्भुप्रसाद शर्मा उदयपुर तत्कालीन अध्यक्ष
देवेन्द्र प्रजु गण्डकी प्रदेश तत्कालीन अध्यक्ष
सरोवर प्रसाईं बाँके जिल्ला तत्कालीन अध्यक्ष
माया रावत सुदूरपश्चिम प्रदेश सदस्य
अम्बिका बुढाथोकी कोशी प्रदेश सदस्य

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *