देश

चितवनमा पर्याप्त मल मौज्दात, सरकारको नीतिअनुसार वितरण भइरहेको साल्ट ट्रेडिङको दाबी

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चितवन शाखाले सरकारले निर्धारण गरेको नीतिअनुसार अनुदानित रासायनिक मल बिक्री–वितरण भइरहेको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास बिक्री गरिएको कार्यालयले जनाएको हो।

शाखा कार्यालयका अनुसार हाल नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ। साथै थप वितरणका लागि सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको छ।

हाल ५० केजी युरियाको मूल्य ८४७ रुपैयाँ, डीएपीको दुई हजार २९७ रुपैयाँ र पोटासको एक हजार ६९७ रुपैयाँ कायम गरिएको छ।

शाखा प्रमुख बुद्धि विनोद दाहालले स्थानीय तहको सिफारिसका आधारमा सूचीकृत बिक्रेतामार्फत सरकारले तोकेको अनुदानित मूल्यमा मल वितरण भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार खेतीपातीको मुख्य याममा किसानलाई मलको अभाव हुन नदिन सरकारले उपलब्ध गराएको मल समयमै ल्याएर वितरण गर्ने जिम्मेवारी कर्पोरेसनले निरन्तर पूरा गर्दै आएको छ।

मल वितरणलाई थप पारदर्शी बनाउन जिल्लाका सबै बिक्रेतालाई ‘किसान व्यवस्थापन प्रणाली (फार्मर म्यानेजमेन्ट सिस्टम)’ सफ्टवेयरमा किसानले खरिद गरेको मलको विवरण अनिवार्य रूपमा प्रविष्ट गराउने तयारी गरिएको छ। यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्व तथा कृषि ज्ञान केन्द्रको समन्वयमा बिक्रेतालाई प्राविधिक तालिमसमेत प्रदान गरिएको कार्यालयले जनाएको छ।

दाहालका अनुसार साल्ट ट्रेडिङले देशभरको करिब ३० प्रतिशत रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। यस वर्ष रोपाइँको समयमा डीएपी मलको माग एकाएक बढेकाले केही समय आपूर्तिमा चाप परेको भए पनि अहिले वितरण नियमित रहेको उहाँले बताउनुभयो। रोपाइँको याममा युरिया मलको माग डीएपीभन्दा बढी हुने भएकाले यसको खपत पनि उच्च रहने गरेको उहाँको भनाइ छ।

गत आर्थिक वर्ष २०८१/८२ मा चितवनमा ४२ हजार २०१ बोरा युरिया, २१ हजार ५८४ बोरा डीएपी र एक हजार ८४२ बोरा पोटास बिक्री–वितरण गरिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *