काठमाडौँ। नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति र संयुक्त कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार संयुक्त निर्देशक समितिको बैठक बसेको हो। यसअघि मंगलबार दुवै देशका सहसचिवहरूको सहअध्यक्षतामा संयुक्त कार्यसमूहको १३औँ बैठक सम्पन्न भएको थियो।
बैठकमा नेपाल–भारतबीच जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार तथा अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो।
दुवै पक्षले ४०० केभी क्षमताको गोरखपुर–नयाँ बुटवल अन्तरदेशीय प्रसारण लाइनसहित अन्य प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने उपायबारे छलफल गरेका छन्।
यस्तै, नेपाल र भारतको विद्युत् प्रणालीको समन्वित सञ्चालन, सौर्य ऊर्जा आयोजना विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
संयुक्त निर्देशक समितिको बैठकअघि मंगलबार भारतका विद्युत् सचिव पंकज अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराजभक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
बैठकमा भएका छलफलले नेपाल–भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी, सुदृढ र दीर्घकालीन बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।




