देश

ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल, पर्यटन व्यवसायमा नयाँ उत्साह

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। भारतीय पर्यटकको बढ्दो उपस्थितिले होटल, रेस्टुरेन्ट, पसल तथा अन्य पर्यटन व्यवसायमा नयाँ उत्साह थपिएको व्यवसायीहरू बताउँछन्।

प्रकृति, संस्कृति, धार्मिक स्थल र साहसिक पर्यटनका कारण नेपाल भारतीय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विशेषगरी साँझपख ठमेल क्षेत्रमा भारतीय पर्यटकको चहलपहल उल्लेख्य देखिन थालेको छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले भारतीय पर्यटकको आगमनले ठमेलको अर्थतन्त्र चलायमान बनेको बताए। उनका अनुसार होटल, रेस्टुरेन्ट, क्लब र व्यापारिक प्रतिष्ठानमा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ।

काठमाडौं महानगरपालिका–१६ स्थित चारतारे होटल रमदा इन्कोर काठमाडौंका महाप्रबन्धक महेश फुँयालका अनुसार हाल होटलमा बस्ने विदेशी पाहुनामध्ये करिब ३० प्रतिशत भारतीय पर्यटक रहेका छन्। पशुपतिनाथ दर्शनका लागि आउने अधिकांश भारतीय पर्यटक गौशाला क्षेत्रमा बस्ने गरे पनि पछिल्लो समय ठमेलमा समेत उनीहरूको बसाइ बढ्न थालेको उनले बताए।

ठमेल आउने पर्यटकहरू नेपाली परिकारको स्वाद लिनुका साथै हस्तकला सामग्री खरिद, सांस्कृतिक वातावरणको अनुभव र ऐतिहासिक सम्पदाको अवलोकनमा पनि रुचि देखाउने गरेका छन्। पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, पाटन दरबार क्षेत्र र काठमाडौं दरबार क्षेत्र भारतीय पर्यटकका प्रमुख आकर्षण बनेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपाल आएका ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकमध्ये २ लाख ९२ हजार ६२४ (२५.२ प्रतिशत) भारतीय थिए।

त्यस्तै, सन् २०२६ को पहिलो ६ महिनामा नेपाल आएका ६ लाख २० हजार ४५३ विदेशी पर्यटकमध्ये १ लाख ७२ हजार ४८१ भारतबाट आएका छन्। जुन महिनामा मात्रै ४१ हजार ८०९ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीप कार्कीका अनुसार भारतलाई केन्द्रमा राखेर सञ्चालन गरिएको पर्यटन प्रवर्द्धन अभियान, सीमा नाकाहरूमा गरिएको प्रचारप्रसार तथा भारतका विभिन्न सहरमा आयोजना गरिएका पर्यटन कार्यक्रमले भारतीय पर्यटकको आगमन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

व्यवसायीहरूका अनुसार भारतमा बढ्दो गर्मीका कारण चिसो मौसमको खोजीमा पनि धेरै भारतीय पर्यटक नेपाल आउन थालेका छन्। यसको प्रभाव काठमाडौंसँगै पोखराको पर्यटन व्यवसायमा समेत देखिएको छ।

पोखरास्थित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धितालले पछिल्लो समय उत्तर प्रदेश र बिहारबाट आउने भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको बताए। धार्मिक पर्यटन अन्तर्गत पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको संख्या पनि निरन्तर वृद्धि भइरहेको उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *