देश

गर्मी छल्न लमजुङको गाईखुरे झरनामा पर्यटकको घुइँचो

लमजुङ। गर्मीबाट राहत पाउन र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहने आन्तरिक पर्यटकको रोजाइमा पछिल्लो समय लमजुङको गाईखुरे झरना पर्न थालेको छ।

बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको करिब एक सय मिटर अग्लो गाईखुरे झरनामा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन्। सार्वजनिक बिदाका दिन भने पर्यटकको सङ्ख्या झन्डै दोब्बर हुने गरेको स्थानीय बताउँछन्।

बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको झरना सहज पहुँचका कारण छोटो समयमै लोकप्रिय बन्दै गएको हो। स्थानीयका अनुसार गत वर्ष साउनयता यहाँ पर्यटकको चहलपहल बढ्न थालेको थियो भने यस वर्ष असार लागेसँगै उल्लेख्य भीड देखिएको छ।

अग्लो पहराबाट झर्ने स्वच्छ पानी, प्राकृतिक पोखरी र घामको किरणसँग पानीका छिटा ठोक्किँदा देखिने सप्तरङ्गी इन्द्रेणीले झरनाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ। पर्यटकहरू झरनाको फेदीसम्म पुगेर फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र प्राकृतिक पोखरीमा पौडी खेलेर रमाउने गरेका छन्।

लमजुङसँगै मनाङ, गोरखा, कास्की, तनहुँ र चितवनलगायत जिल्लाबाट यहाँ आन्तरिक पर्यटक आउने गरेका छन्। तनहुँकी पार्वती तामाङले आफूले सुनेकोभन्दा झरना अझ सुन्दर लागेको बताउँदै गर्मीमा चिसो पानीमा पौडी खेल्नु र साथीभाइसँग समय बिताउनु निकै रमाइलो अनुभव भएको प्रतिक्रिया दिइन्।

पर्यटक सृजना श्रेष्ठ, लक्ष्मण गुरुङ, सन्तोष थापा र युनिक गुरुङले पनि गाईखुरे झरनालाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्यका रूपमा वर्णन गरेका छन्।

झरना क्षेत्रमा प्राकृतिक पोखरीसँगै भविष्यमा क्यानोनिङ र र्याफ्टिङजस्ता साहसिक खेल सञ्चालन गर्ने सम्भावना पनि रहेको छ। बेँसीसहर नगरपालिकाका सूचना अधिकारी दिपेश घिमिरेका अनुसार चालु आर्थिक वर्षमा करिब ९ लाख रुपैयाँ लागतमा दुईवटा पोखरी निर्माण गरिएको छ।

गण्डकी प्रदेश सरकारले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालका अनुसार मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण, पार्किङस्थल विकास तथा क्यानोनिङ र र्याफ्टिङ सञ्चालन गर्ने योजना छ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहे पनि पूर्वाधार विकासले अपेक्षित गति लिन नसकेको बताए।

चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ भएकाले यही मार्ग हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन्। साथै, मस्र्याङ्दी गाउँपालिकास्थित अक्टोपस झरना, बुङ झरना र भुलभुलेको हामखोला झरनामा पनि पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ।

पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण, प्रभावकारी प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण गर्न सके लमजुङमा पर्यटक आगमन अझ बढ्ने र स्थानीय अर्थतन्त्रले समेत लाभ लिने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *