खेलकुद

चेक गणतन्त्रमाथि मेक्सिकोको सहज जित, शतप्रतिशत अंकसहित नकआउट चरणमा

काठमाडौँ। जारी फिफा विश्वकप फुटबलको सहआयोजक मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्दै समूह चरणका सबै खेल जितेर शतप्रतिशत अंकसहित नकआउट चरणमा प्रवेश गरेको छ। पराजित चेक गणतन्त्र भने समूह चरणबाटै बाहिरिएको छ।

मेक्सिकोले यसअघि दक्षिण अफ्रिका र दक्षिण कोरियालाई हराउँदै अन्तिम खेलअघि नै समूह विजेताको रूपमा स्थान सुरक्षित गरिसकेको थियो। त्यसैले मुख्य प्रशिक्षक हाभियर अग्विरेले टोलीमा केही परिवर्तन गरेका थिए।

दोस्रो हाफको सुरुआतमै मातेओ चाभेजले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। प्रतियोगितामा पहिलो पटक सुरुआती टोलीमा अवसर पाएका किशोर खेलाडी गिल्बर्टो मोराले पनि प्रभावशाली प्रदर्शन गरे।

मोराको पासमा जोर्ज सान्चेजले सिर्जना गरेको अवसरमा जुलियन किन्योनेसले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। यो विश्वकपमा किन्योनेसको दोस्रो गोल थियो।

१७ वर्ष २५३ दिनका मोरा पुरुष विश्वकपको खेल सुरुआत गर्ने इतिहासकै छैटौँ कान्छा खेलाडी बने। साथै, उनले मेक्सिकोका लागि विश्वकपमा सुरुआती टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान पनि बनाए।

७२औँ मिनेटमा मैदानबाट बाहिरिएका मोराले दर्शकबाट भव्य सम्मान पाए। उनको स्थानमा मैदान प्रवेश गरेका आल्भारो फिदाल्गोले १५ यार्ड टाढाबाट आकर्षक गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे।

खेलका क्रममा ४० वर्षीय गोलरक्षक गुइलेर्मो ओचोआले पनि विशेष चर्चा बटुले। खेलको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए।

ओचोआ आफ्नो छैटौँ विश्वकप अभियानमा सहभागी भएका छन्। यससँगै उनले Cristiano Ronaldo र Lionel Messi को विश्वकप टोलीमा सहभागिताको कीर्तिमान बराबरी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *