जलश्रोत/उर्जा

विद्युत् भार बढेपछि अत्यावश्यकबाहेक उपकरण नचलाउन प्राधिकरणको आग्रह

चितवन । बढ्दो गर्मीका कारण विद्युत् खपत अत्यधिक बढेपछि नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण शाखाले अत्यावश्यकबाहेकका विद्युतीय उपकरण प्रयोग नगर्न उपभोक्तासँग आग्रह गरेको छ।

प्राधिकरणका अनुसार गर्मी बढेसँगै विद्युत् माग उच्च भएपछि प्रसारण तथा वितरण लाइन र ट्रान्सफर्मरहरूमा ओभरलोड भई भोल्टेज समस्या देखिन थालेको छ। यसका कारण ट्रान्सफर्मर पड्किने, तार पग्लिने तथा जल्ने जस्ता समस्या देखिएपछि आपूर्तिमा अवरोध उत्पन्न भएको छ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले अत्यधिक लोडका कारण समस्या बढ्दै गएको जानकारी दिँदै उपभोक्तालाई सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार विद्युत् खपत बढेसँगै प्रणालीमा दबाब परिरहेको छ।

उनले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत ग्रीड सबस्टेशनलाई अटोमेसन गर्ने कार्यका क्रममा पनि केही प्राविधिक समस्या देखिएकाले आपूर्तिमा असर परेको बताए। भरतपुर महानगरपालिका–११ स्थित सबस्टेशनमा १० वटा पिलर फिडरलाई अटोमेसन गर्ने काम गरिएको भए पनि हाल सो प्रक्रिया रोकिएको छ।

हाल भरतपुर वितरण केन्द्रमार्फत दैनिक करिब ६५ मेगावाट विद्युत् खपत भइरहेको छ भने यसको कुल क्षमता १८० मेगावाट रहेको छ। यहाँबाट चनौली वितरण केन्द्रमा समेत विद्युत् आपूर्ति हुँदै आएको छ।

करीब ७५ हजार ग्राहक रहेको यस वितरण क्षेत्रमा सबै उपभोक्ताले एकैपटक अत्यधिक विद्युत् खपत गर्दा प्रणालीमा समस्या आएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत् प्रणाली स्थिर बनाउन सहयोग गर्न उपभोक्तासँग आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *