काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि पूर्वाधार विकास, गरिबी न्यूनीकरण, पर्यटन प्रवर्द्धन र स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँ ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले प्रदेश गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गर्ने घोषणा गरेको छ। साथै सडक पहुँच नपुगेका बझाङको साइपाल गाउँपालिका, दार्चुलाको अपिहिमाल गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने योजना अघि सारिएको छ।
नीति तथा कार्यक्रममा प्रदेश लोकमार्ग र सहायक सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको छ। गरिबीको दर उच्च रहेका अछाम, डोटी, बाजुरा र बैतडीका केही स्थानीय तहमा लक्षित समुदायको जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। शिक्षा, स्वास्थ्य र पोषणसँग जोडिएका योजनामार्फत गरिबी न्यूनीकरण अभियान अघि बढाइने सरकारको तयारी छ।
युवालाई स्वरोजगारमा जोड्न मुख्यमन्त्री लघुउद्यम कार्यक्रम विस्तार गर्ने, ‘एक स्थानीय तह, एक लघु औद्योगिक ग्राम’ अवधारणालाई अगाडि बढाउने तथा प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने विषय पनि कार्यक्रममा समेटिएको छ। ऊर्जा र पर्यटन क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै सरकारले आगामी वर्ष खप्तड र बडीमालिकामा विद्युत् सेवा विस्तार गर्ने नीति लिएको छ। साथै अपि, सुर्मा, साइपाल, बडीमालिका, रामारोशन र रानीसैन क्षेत्रमा पदमार्ग निर्माण गरिने योजना सार्वजनिक गरिएको छ।
स्वास्थ्यतर्फ सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तथा पहाडी जिल्लाका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।




