काठमाडौं । पछिल्लो समय ‘वैकल्पिक राजनीति’ को नारासहित उदाएका युवा समूहहरूबीच संगठन विस्तारको होड चलिरहेका बेला जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले पनि देशव्यापी अभियानलाई तीव्र बनाएको छ । परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र युवामा देखिएको राजनीतिक निराशालाई आधार बनाएर समूहले आफूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास थालेको हो ।
समूहले देशभरका युवालाई संगठित गर्ने उद्देश्यसहित विभिन्न जिल्लामा जिम्मेवारी बाँडफाँट सुरु गरेको छ । यसैक्रममा चितवन जिल्लाको संयोजकको जिम्मेवारी बिशु गुरुङलाई दिइएको छ । अभियानअनुसार बिकल घताने र यान्जल थापा मगर सहसंयोजक तोकिएका छन् ।
मिराज समूहले आफूलाई “देशप्रेमी युवाको साझा अभियान” का रूपमा प्रस्तुत गर्दै जनताको समस्या, बेरोजगारी, राजनीतिक निराशा र राज्यप्रतिको अविश्वासलाई मुख्य मुद्दा बनाउने जनाएको छ । अभियानले युवा सशक्तिकरण, प्रत्यक्ष जनसहभागिता र वैकल्पिक राजनीतिक सोचलाई केन्द्रमा राखेर संगठन विस्तार गरिरहेको दाबी गरेको छ ।
पछिल्ला वर्षहरूमा परम्परागत दलहरूप्रति युवाको मोहभंग बढ्दै जाँदा स्वतन्त्र र वैकल्पिक राजनीतिक अभियानहरू तीव्र रूपमा देखिन थालेका छन् । रास्वपाको उदयपछि “पुराना दलविरुद्ध नयाँ पुस्ता” को बहस अझ बलियो बनेको राजनीतिक विश्लेषकहरू बताउँछन् । मिराज समूहले पनि त्यही असन्तुष्टिलाई संगठित राजनीतिक शक्तिमा रूपान्तरण गर्ने प्रयास थालेको देखिन्छ ।
यद्यपि, वैकल्पिक राजनीति भन्दै उदाएका धेरै समूहहरू स्पष्ट विचारधारा, संगठनात्मक संरचना र दीर्घकालीन रणनीतिविनै सीमित अभियानमा खुम्चिएको विगत पनि छ । त्यसैले मिराज समूहको अभियान केवल सामाजिक सञ्जाल र युवाको उत्साहमा सीमित हुन्छ वा वास्तविक राजनीतिक शक्तिमा रूपान्तरण हुन्छ भन्ने प्रश्न अहिले नै उठ्न थालेको छ ।
चितवनलाई राजनीतिक रूपमा संवेदनशील जिल्ला मानिन्छ । ठूला दलका शीर्ष नेतादेखि नयाँ राजनीतिक प्रयोगसम्मको केन्द्र बनेको चितवनमा संगठन विस्तारलाई समूहले रणनीतिक रूपमा हेरिरहेको बुझिन्छ ।
अभियानले आगामी दिनमा देशका अन्य जिल्लामा पनि संगठन विस्तार, जनभेटघाट र वैकल्पिक राजनीतिक बहसलाई तीव्र बनाउने जनाएको छ ।




