काठमाडौँ। प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
आज बसेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।प्रस्तावमाथिको छलफलमा सांसदहरू अशोक चौधरी, सुशील खड्का, युवराज दुलाल, डा कृष्णहरि बुढाथोकी, खुश्बु ओली, समीक्षा बास्कोटा, गणेश कार्की, लिमा अधिकारी (आचार्य), नितिमा भण्डारी कार्की, डा तोसिमा कार्की र सुलभ खरेलले विभिन्न धारणा राखेका थिए ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले वैकल्पिक स्रोतमार्फत विकास तथा पूर्वाधार परियोजनाहरू अघि बढाउने उद्देश्यले विधेयक ल्याइएको बताए ।
उनका अनुसार यस विधेयकले विकास आयोजनाको प्रतिफल वृद्धि गर्न र लगानीका नयाँ स्रोत परिचालन गर्न सहयोग गर्नेछ ।
अर्थमन्त्रीले सरकार सुशासनप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उक्त विधेयकले आर्थिक व्यवस्थापनलाई संस्थागत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
आजको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।




