काठमाडौं । लगानी बोर्डले चार सय ३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ६७औँ बोर्ड बैठकले यो निर्णय गरेको हो ।
बैठकले गत आव २०८१/०८२ का गतिविधिको समीक्षा गर्दै २०८२/०८३ को वार्षिक कार्ययोजना पनि स्वीकृत गरेको छ । परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा पारित गरी अनुमतिपत्र जारी गर्न कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ । यसैगरी, बैठकले अरुण–३ (९०० मेगावाट) जलविद्युत् परियोजनाको सिधा सम्झौता मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र पश्चिम सेती (८० मेगावाट) जलाशययुक्त परियोजनाको सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय गरेको छ ।
बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङले पेश गरेको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्कको १६ अर्बको परियोजना विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गर्दै सर्वेक्षण अनुमतिपत्र दिन सीइओलाई अख्तियारी प्रदान गर्यो ।
त्यसैगरी, लगानी बोर्डको कार्यालयका लागि २०८२/८३ मा आवश्यक सेवा, समूह र श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधन मस्यौदा सरकारसमक्ष पेस गर्ने निर्णय पनि गरिएको छ । बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।




