दोधारा चाँदनी (कञ्चनपुर)।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगेकी थिइन्। स्वास्थ्यकर्मीले शिशु दुब्लो देखेपछि तौल जाँच गरिएको थियो। तौल ६ किलो ४०० ग्राम मात्र नापिएपछि उनलाई पोषण पुनःस्थापना गृहमा भर्ना गरियो। उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्ने स्वास्थ्यकर्मीले बताए।
पूजा हाल दुई सातादेखि पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेकी छन्। दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने भएकाले शिशुको १० दिनमा ७ सय ग्राम तौल बढिसकेको उनले बताइन्।
यस्तै, भीमदत्त–बागबानीकी गीता सेवा र भीमदत्त–३ की विस्ना बोहराले पनि शिशु कुपोषित देखिएपछि पुनःस्थापना गृहमै उपचार गराइरहेका छन्। स्वास्थ्यकर्मीका अनुसार शहरी क्षेत्रमा समेत कुपोषणका केस बढिरहेका छन्।
महाकाली प्रादेशिक अस्पतालको १० शय्याको पोषण पुनःस्थापना गृहमा चालु आर्थिक वर्षमा ३२ शिशु भर्ना भएका छन्। पाँच वर्षमुनिका आमा–शिशुले निःशुल्क सेवा पाउने व्यवस्था छ। गृहका प्रमुख इन्द्रा भट्टका अनुसार पछिल्ला वर्षमा भर्ना हुने संख्या कम देखिए पनि सहरी क्षेत्रबाट आउने शिशुको संख्या भने बढेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्कले भने कुपोषण दर अझै उच्च रहेको देखाउँछ। २०७९/८० मा कडा कुपोषण ६५६ बालबालिकामा देखिएको थियो। २०८०/८१ मा कडा कुपोषण चार सय ४४ बालिका र तीन सय ९३ बालकमा नापिएको थियो। २०८१/८२ मा पनि पाँच सय ९ बालबालिकामा कडा कुपोषण भेटिएको थियो।
चालु आवमा हालसम्म ६–५९ महिनामा १९१ बालबालिका कडा कुपोषणमा भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार व्यस्त जीवनशैली, पूर्ण स्तनपानमा कमी, र नियमित सचेतना कार्यक्रम नहुँदा कुपोषणदर घट्न नसकेको हो। छ महिनासम्म पूर्ण स्तनपान नगर्दा संक्रमणको जोखिम बढ्ने र त्यसले कुपोषण निम्त्याउने भएकाले समयमै पोषण र हेरचाह आवश्यक रहेको उनीहरूको भनाइ छ।



