काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधवार) सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदी सम्मिलित इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्च स्रोतले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सो नियुक्तिविरुद्ध अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले रिट दायर गर्दै नियुक्ति असंवैधानिक भएको दाबी गरेका हुन् ।
रिटमा भनिएको छ, संविधानको धारा ७६ अनुसार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन । साथै, धारा १३२(९) ले पनि त्यस्तो योग्यता स्पष्ट रूपमा निषेध गरेको उल्लेख गरिएको छ । रिटका अनुसार राष्ट्रपति पौडेलले संविधानको ठाडो उल्लङ्घन गर्दै नियुक्ति गरेका हुन् र उनलाई ‘बाधा अड्काउ फुकाउने अधिकार’ पनि छैन । साथै, धारा ३०५ अनुसार निर्दिष्ट समयसीमा पनि सकिएको दाबी गरिएको छ ।
उक्त रिटमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली सेना, प्रमुख राजनीतिक दलहरू, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख देवराज घिमिरेलाई विपक्षी बनाइएको छ ।



