काठमाडौं । जेन–जेड आन्दोलनका क्रममा भएका आगजनी घटनाले शिक्षा क्षेत्र पनि प्रत्यक्ष प्रभावित भएको छ। आन्दोलनकै क्रममा विभिन्न स्थानमा जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्ने निर्णय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले गरेको छ।
परिषद्को परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार जारी गरेको सूचनामा डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका स्थगित तथा जलेर नष्ट भएका परीक्षाहरू पुनः सञ्चालन गरिने उल्लेख छ।
सूचनाअनुसार, असोज १० गते बसेको परीक्षा समितिको निर्णयअनुसार, जलेका उत्तरपुस्तिकाको पुनः परीक्षा मंसिर ४ गतेदेखि सुरु हुनेछ भने स्थगित परीक्षा मंसिर ३० गतेदेखि सञ्चालन गरिनेछ। सबै परीक्षा बिहान ७ बजेदेखि सुरु हुनेछन्। विस्तृत तालिका परिषद्को वेबसाइटमा हेर्न सकिने परिषद्ले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, उत्तरपुस्तिका सुरक्षित राख्न प्रहरी कार्यालयहरूमा राखिएका कागजातहरू देशभरका केही स्थानमा भएको आगजनीका कारण पूर्ण रूपमा नष्ट भएका थिए। यसअघि परिषद्ले नष्ट भएका उत्तरपुस्तिकाहरूको सूची समेत सार्वजनिक गरिसकेको छ।
शिक्षा विज्ञहरूका अनुसार, जेन–जेड आन्दोलनको असर राजनीतिक र प्रशासनिक क्षेत्रभन्दा पर गई अब शिक्षा व्यवस्थामा पनि देखिन थालेको हो। उनीहरूको भनाइमा, “विद्यार्थीको भविष्य जोगाउन पुनः परीक्षा आवश्यक भए पनि, यसले देशको अस्थिर अवस्थाको गहिरो असर शिक्षा प्रणालीमा परेको स्पष्ट देखाउँछ।”




