देश

दसैँ बिदालाई सिर्जनात्मक बनाउँदै शिक्षक

टीकापुर। वडादसैँका अवसरमा विद्यालयहरूमा एक महिनाको बिदा परेपछि कैलालीका शिक्षकहरूले खाली समयलाई सिर्जनात्मक र उत्पादनमूलक बनाउन थालेका छन्।

हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी करेसाबारीमा काम गर्ने र पुस्तक अध्ययनमा समय बिताउने तयारीमा छन्। पद्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरी भने तरकारीका बेर्ना उत्पादन र बिक्रीमा व्यस्त छन्। उनका अनुसार यसबाट परिवारलाई हरियो सागपात मात्र नभई अतिरिक्त आम्दानी पनि हुने गरेको छ।

कालिका आधारभूत विद्यालय चौगुर्दीका प्रधानाध्यापक कम्मानसिंह बोहराले सातामा एक दिन कक्षा ४ र ५ का विद्यार्थीलाई विद्यालयमा बोलाएर पुनर्ताजगी गराउने योजना बनाएका छन्। जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रधानाध्यापक रघुनाथ उपाध्यायले खेतबारीमा परिवारसँगै काम गर्ने र हिउँदे तरकारी उत्पादन गर्ने तयारी गरेका छन्।

शिक्षा अधिकृत नरेश अवस्थीका अनुसार शिक्षकहरूले खाली समय करेसाबारी, सामाजिक काम र अध्ययनमा खर्च गर्दा सिर्जनात्मकता बढ्ने मात्र नभई विद्यार्थीलाई पनि सकारात्मक सन्देश जाने विश्वास लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *