काठमाडौँ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउन राष्ट्रिय संवादको आवश्यकता औंल्याएका छन्।
स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दल भएकाले राष्ट्रपतिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दललाई समावेश गरेर राष्ट्रिय संवाद गर्नुपर्ने बताए।
महरका अनुसार मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य छ। “अन्योलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न पहिलो कार्य निर्वाचनमार्फत नयाँ जनमत लिनु हो,” उनले भने, “वैकल्पिक उपाय संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउनु पनि हुन सक्छ।”
उनले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारका कारण नागरिकमा गहिरो निराशा बढेको बताए। “एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन् भने अर्कोतिर महँगी र आर्थिक संकटले जनजीवन कष्टकर बनेको छ,” महरले भने।
हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनले राजनीतिक नेतृत्वलाई गम्भीर हुन चेतावनी दिएको उनको टिप्पणी छ।
नेता महरले जनतामा गुमेको आत्मविश्वास पुनःस्थापना गर्न र राष्ट्र पुनर्निर्माणको अभियान अघि बढाउन भ्रष्टाचारविरुद्ध कडा अभियान थाल्नुपर्नेमा जोड दिए।




