काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिन र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन्।
मङ्गलबार मन्त्रालयमा सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँगको छलफलपछि घिसिङले ठेक्का तोडी नयाँ प्रक्रियाबाट अघि बढ्नुको विकल्प नभएको प्रस्ट पारे।
मन्त्री घिसिङले आयोजना ढिलाइको मुख्य कारण ठेकदारहरूको कमजोरी भएको भन्दै गम्भीर चेतावनी दिए। “राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ, ब्याज मात्र अर्बौं पुगेको छ। ठेकदारले नियतपूर्वक काम नगरेको देखिन्छ। म्याद थप्नु औचित्यहीन छ, अब सबै ठेक्का तोड्नुपर्छ,” उनले भने।
भेरी–बबईः सुरुङ २०७७ भदौमै सम्पन्न भए पनि बाँध र विद्युतगृह निर्माण सुस्त। २०७६ साउनमा गन्दोङ युतियान–रमण जेभीसँग ठेक्का सम्झौता भएको हो। हाल भौतिक प्रगति ५७ प्रतिशत मात्र। बाँध र विद्युतगृहको काम १० प्रतिशत मात्रै सम्पन्न। ठेक्का अवधि ६० प्रतिशत सकिँदा पनि निर्माण व्यवसायी पटेल–रमण जेभीले गति लिन सकेको छैन।
तराई र मधेसमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बढाउने लक्ष्यसहित सुरु गरिएका यी आयोजना ढिलाइका कारण प्रतिफल गुमिरहेको मन्त्री घिसिङको भनाइ छ। सुरुङ निर्माण सम्पन्न भए पनि बाँकी संरचना नबन्दा आयोजना अलपत्र परेको भन्दै उनले सम्बन्धित सबै पक्षलाई सक्रिय हुन आग्रह गरे।




