देश

समयमै रोग पहिचान भए ९० प्रतिशत मिर्गौला बचाउन सकिने अध्ययन

काठमाडौँ।वीर अस्पतालमा गरिएको अध्ययनले समयमै रोगको पहिचान भए ९० प्रतिशत मिर्गौला बचाउन सकिने देखाएको छ। अस्पतालमा पछिल्लो समय मिर्गौला फाल्न बाध्य भएका ५०० बिरामीमाथि गरिएको अध्ययनमा ४७० जनाको मिर्गौला समयमै उपचार भएको भए जोगाउन सकिने निष्कर्ष निकालिएको हो।

अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतका अनुसार ५०० मध्ये ३० जनाको मात्र मिर्गौला बचाउन नसकिने अवस्थामा थियो। अधिकांश बिरामीमा जनचेतना र नियमित स्वास्थ्य परीक्षणको कमीका कारण मिर्गौला गुमाउनु परेको उनले बताए।

अध्ययनले मिर्गौला बिग्रने प्रमुख कारण पत्थरी रहेको उल्लेख गरेको छ। ५०० मध्ये ६५ प्रतिशत बिरामीमा पत्थरी, १५ प्रतिशतमा जन्मजात समस्या, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणका कारण समस्या देखिएको छ। पत्थरीका कारण पिसाबको बाटो अवरुद्ध हुँदा मिर्गौला फुल्ने र अन्ततः बिग्रने चिकित्सकहरूले बताएका छन्।

बस्नेतका अनुसार जन्मजात समस्याका कारण पनि मानिसको २० देखि ३० वर्षको उमेरमा मिर्गौला बिग्रने सम्भावना हुन्छ। विश्वका करिब एकदेखि चार प्रतिशत मानिसमा एउटा मात्र मिर्गौला हुने तथ्यांक पनि अध्ययनमा उल्लेख छ।

मधुमेह, पानी कम पिउनु, मद्यपान र पेनकिलर औषधि (जस्तै आइबुप्रोफेन, निमेसुलाइड) मनपरी सेवन गर्नु पनि मिर्गौला बिग्रने कारण भएको उनले बताए। वीर अस्पतालमा आएका ५०० बिरामीमध्ये २२० जना पहिलोपटक अस्पताल पुगेका थिए। अध्ययनले महिलामा पुरुषभन्दा डेढ गुणा बढी मिर्गौला बिग्रेको देखाएको छ।

मिर्गौला जोगाउन जीवनशैलीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै बस्नेतले दिनमा कम्तीमा तीन लिटर पानी पिउन, मोटोपन घटाउन, फलफूल प्रशस्त खान र नियमित परीक्षण गर्न सुझाव दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *