फुङलिङ ।ताप्लेजुङको मिक्वाखोला र मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणमा सफलता हासिल भएको छ। बिहीबार आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।
मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्द्धन भइरहेको यस आयोजनाको ५,८४३ मिटर लामो हेडरेस टनेल निर्माण कार्य सम्पन्न भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिए।
करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको हेडवर्क्स (मुख्य बाँध) साँवाको तेम्बामा र पावर हाउस (विद्युत गृह) लप्सिबोटेमा रहेको छ। आयोजनाबाट उत्पादित विद्युत १०.७ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेशनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ। त्यसका लागि ३६ वटा टावरहरू निर्माण भइरहेका छन्।
आयोजना प्रमुख रवि मुल्मीका अनुसार, मुख्य सिभिल संरचनाको कामसँगै हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र विद्युत प्रसारण लाइनसम्बन्धी कामहरू पनि सम्पन्न हुने अवस्थामा पुगेका छन्।




