काठमाडौँ। सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै चिन्न सक्नुपर्नेमा जोड दिँदै त्यसैमार्फत संविधानको रक्षा र विधिको शासन सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधान घोषणाको एक दशक पुग्न केही दिन मात्र बाँकी रहँदा भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोच, पारदर्शिता र सुशासनको आवश्यकता औँल्याएको बताए । उनले भ्रष्टाचार र कुशासन अन्त्यको माग राख्ने युवाहरूको आन्दोलनलाई देखाएर देशमा असामान्य स्थिति सिर्जना गर्ने प्रयास भएको र सर्वोच्च विधायिकी संस्थालाई विघटन गर्ने असंवैधानिक काम भएको उल्लेख गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गचित्रअनुसार संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिमार्फत सरकार सञ्चालनको नयाँ प्रणाली अघि बढेको र अधिकार प्रत्यायोजनसहित स्थानीय तह सबल बनेको बताए । यसले सेवाप्रवाह नागरिकको घरदैलोमा पुर्याउने वातावरण सिर्जना गरेको पनि सभामुखको भनाइ छ ।
सभामुख घिमिरेले विगतमा पनि नेपाली जनताबाट खोसिएको अधिकार संसद्मार्फत नै पुनःस्थापित भएको स्मरण गर्दै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ सुदृढ लोकतन्त्र मात्रै हुने उल्लेख गरे ।
२०७२ असोज ३ गते नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि जारी भएको संविधानलाई उनले मुलुकको मौलिक यथार्थमा आधारित ऐतिहासिक संवैधानिक दस्तावेज बताउँदै यसले विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकता, समान अधिकार र साझा गौरवको मार्ग खुलाएको स्पष्ट पारे ।




