काठमाडौँ। पूर्वसांसद मञ्च नेपालले सबै राजनीतिक दलहरूले जनआकाङ्क्षाअनुसार आफूलाई परिमार्जन गर्दै निर्वाचनमा भाग लिएर देशलाई अग्रगतिमा लैजान आह्वान गरेको छ ।
मञ्चले जेनजी समूहको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण दललाई निर्वाचनमा भाग लिएर देशलाई अग्रगतिमा लैजान आव्हान गरेको हो । “लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन नै हो,” मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनतामा जाने र आफूलाई जनपरीक्षामा उत्तीर्ण गराउने उत्तम अवसर पनि हो ।”
मञ्चले सडक आन्दोलनका नाममा जे पनि गर्न पाइन्छ भन्ने गलत नजिर नबसोस् र राज्यको सम्पदा, व्यक्ति र व्यक्तिका सम्पत्तिमा भएको तोडफोड र आगजनीको स्वतन्त्र आयोग बनाएर निष्पक्ष छानबिन भई दोषीलाई कारबाही गर्न माग गरेको छ ।
“विभिन्न शक्तिका चलखेलका बाबजुद नेपाली समाजले एउटा अन्तरिम सरकार पाएको छ, यसको पक्षमा भूमिका खेल्ने राष्ट्रपतिलगायत अन्य व्यक्ति वा समुदायलाई यो मञ्च धन्यवाद व्यक्त गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “सरकारलाई समयमा नै निर्वाचन गराउन र समाजमा अमनचयन कायम गर्न सफलता प्राप्त हुनेछ भन्नेमा यो मञ्च अपेक्षा गर्दछ ।”
गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु हुन पुगेका सबै जनप्रति श्रद्धाञ्जलि र उहाँहरूका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको सरकारद्वारा उपचार गराउन माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।




