देश

देशको सार्वभौमसत्ता जोखिममा छ : डा. रावल

काठमाडौँ। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले सरकारले विदेशी सेना नेपाल भित्रिने बाटो खोलेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनका अनुसार हालै संसदबाट पारित भएको कानुनले विदेशीलाई नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्ने अनुमति मात्र दिएको छैन, त्यसको सुरक्षा पनि ती विदेशी कम्पनीहरूले नै गर्ने व्यवस्था गरेको छ। उनले भने, “अब हेर त, विदेशी सेना आउने भयो कि नाइ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ?”

रावलले उक्त कानुन देशको सार्वभौमिकतामाथि खतरा भएको जिकिर गरे। “कानुन बनाउनेहरूले विदेशी कम्पनीलाई नदीनालाबाट विद्युत् उत्पादन गर्न दिन्छन्, अनि सुरक्षा पनि उनीहरूले नै गर्छन् भने नेपाली सेना चाहिँ के हेर्न बसेको?” भन्ने उनको प्रश्न थियो।

त्यस्तै, उनले नागरिकता विधेयकमा वंशजको आधारमा नागरिकता दिँदा बाबुको नाम र ठेगाना अनिवार्य नहुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए। “वंशजको नागरिकता भन्ने, तर पिताको नाम र ठेगाना नै नचाहिने भनेपछि वंशज रह्यो त?” भन्दै उनले सो विधेयकप्रति गम्भीर आशंका व्यक्त गरे।

पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै टिप्पणी गर्दै भने, “एकातिर छोराछोरी खाडी पठाउने, अर्कातिर छोराछोरी जन्माउनुस् भन्ने? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन।”

उनको भनाइमा देश गलत बाटोमा हिँडिरहेको छ, र जनताले यसको मूल्य चुकाउनुपर्ने अवस्था नआओस् भन्ने चेतावनीसमेत दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *