देश

डिप बोरिङ स्थायी समाधान होइन: कांग्रेस नेता गुरुङ

पाटन (ललितपुर)।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङलाई पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान होइन भन्दै दीर्घकालीन उपाय खोज्न आग्रह गरेका छन्।

हालै तराईका जिल्लामा देखिएको खडेरी समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङमार्फत पानीको व्यवस्थापन गर्ने अभिव्यक्तिपछि गुरुङले आफ्नो धारणा सार्वजनिक गर्दै डिप बोरिङले समस्या झन गम्भीर बनाउन सक्ने चेतावनी दिए।

“तराई र पहाडमा पानीको सतह लगातार घटिरहेको छ। डिप बोरिङले सतह झन् तल लैजान्छ, जमिन खोक्रो बनाउँछ, भासिने जोखिम बढाउँछ,” गुरुङले भने, “डिप बोरिङ अस्थायी समाधान हो, दीर्घकालीन होइन।”

उनले जमिनको क्षयीकरण र मरुभूमिकरणको सम्भावनालाई गम्भीर चासोको विषय ठहर गर्दै वृक्षारोपणलाई अनिवार्य गर्नुपर्नेमा जोड दिए। उनका अनुसार तराईमा नदी, खोला तथा खोल्साको १०० मिटर आसपास र पहाडमा १०० फिट क्षेत्रभित्र बाँस, नर्कटलगायतका स्थानीय प्रजातिका वनस्पति रोप्नुपर्ने आवश्यक छ।

“खोलाको ढुङ्गा–बालुवा निकाल्न दिनुहुँदैन। नदी किनारको क्षय रोक्न संघीय सरकारले कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ,” गुरुङले थपे।

उनले प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, र भौतिक पूर्वाधार मन्त्रीलाई विभागमार्फत कार्ययोजना र सुझाव पेश गरिने जानकारी पनि दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *