देश

बागमतीका तीन नयाँ मन्त्रीको शपथ आज, मुख्यमन्त्री लामा–बानियाँबीच शक्ति संघर्ष चर्किंदै

काठमाडौँ। बागमती प्रदेश सरकारका नव नियुक्त तीन मन्त्रीको शपथग्रहण समारोह आज (बिहीबार) दिउँसो १ बजे हुँदैछ। मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराइनेछ।

शपथग्रहण कार्यक्रम नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन ढिलाइ भएपछि आजका लागि सारिएको हो। दलको नेताको चुनावमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए।

बानियाँले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै लामालाई राजीनामाको दबाब दिँदै आएका छन्। तर लामाले आफू संविधानको धारा १६८(२) अनुसार बनेको मुख्यमन्त्री भएकाले संसदीय दलको नेता नहुँदा पनि पद नछाड्ने तर्क गरेका छन्।

शक्ति संघर्षका क्रममा लामाले बानियाँ पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए भने एकले राजीनामा दिएका थिए। त्यसपछि पाँच मन्त्रालय रिक्त भएपछि बुधबार तीन नयाँ मन्त्री नियुक्त गरिएका हुन्।

नयाँ मन्त्रीहरूमा लम्सालले आन्तरिक तथा कानुन, गुरुङले सहकारी तथा गरिबी निवारण, र श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। तीनै जना नेपाली कांग्रेसका हुन्। बाँकी दुई मन्त्रालयको जिम्मेवारी लामा आफैंले सम्हालेका छन्।

१४ मन्त्रालयमध्ये ६ एमालेको भागमा छन् भने कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले सत्ता समीकरणमा थप जटिलता उत्पन्न भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *