राजनीति

सत्ता जोगाउने होइन, परिणाम देखाउने बेला हो : डा. शेखर कोइराला

पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु उपयुक्त होइन

मोरङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए।

राजनीतिमा नेताबीच भेटघाट सामान्य प्रक्रिया भएको उल्लेख गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको आफ्नो भेटघाटलाई स्वाभाविक भनेका छन्।

“राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, अन्यथा राजनीति धराप पर्छ,” नेता कोइरालाले टिप्पणी गरे।

संविधानअनुसार पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिले राजनीतिमा फर्कन नपाउने कुनै रोक नभए पनि राजनीतिमा नफर्कनु नै उपयुक्त हुने धारणा उनले राखे।

गठबन्धन निर्माणका क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।संसदीय दलको नेता परिवर्तनबारे सोधिएको प्रश्नमा उनले कांग्रेसमा हाल त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे।

त्यस्तै, उनले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *