काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गरेकी हुन् । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
उनले राजनीतिक दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् ।
उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन् ।
सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन् ।
उनले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरिन् ।




