काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा उत्पन्न भएको पानीको संकट तथा सिँचाइ अभावलाई सम्बोधन गर्न सरकार युद्धस्तरमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै, खानेपानी तथा सिँचाइको उपलब्धता सुनिश्चित गर्न सम्पूर्ण स्रोत साधन प्रयोग गरिने स्पष्ट पारे।
“यो सरकार राष्ट्र सामु खडा भएका चुनौतीहरूको सामना गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री ओलीले भने, “एकातिर पहाडमा वर्षा र बाढीको असर छ भने अर्कोतर्फ तराई–मधेस सुक्खाग्रस्त छ। यी समस्यालाई समाधान गर्न आवश्यक सबै कदम चालिनेछ।”
उनले डिपबोरिङ, आपत्कालीन सामग्री आपूर्ति लगायतका काम अब सहज रूपमा अगाडि बढ्ने उल्लेख गर्दै, “सरकारले अब अल्पकालीन र दीर्घकालीन उपायहरू खोजी गरेर समस्या समाधानमा कुनै कसर बाँकी राख्ने छैन,” भन्ने दृढता व्यक्त गरे।
प्रधानमन्त्रीको यो भनाइ सांसदहरूले तराई–मधेसको सुक्खा र खडेरीको कारण उत्पन्न पीडाको विषयमा ध्यानाकर्षण गराएको पृष्ठभूमिमा आएको हो।




