जलश्रोत/उर्जा

विद्युत् निर्यातमा नेपाल आक्रामक,विद्युत् निर्यातबाट एकै दिन १० करोड आम्दानी

काठमाडौं।नेपाल विद्युत् प्राधिकरणले भारत र बाङ्ग्लादेशलाई बिजुली बेचेर एकै दिन १० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। प्राधिकरणका अनुसार बिहीबार २४ घण्टामा मात्र १६,१६० मेगावाट आवर विद्युत् निर्यात गरिएको छ।

प्रवक्ता राजन ढकालका अनुसार बाङ्ग्लादेशलाई ४० मेगावाट विद्युत् ६.४ अमेरिकी सेन्ट प्रतियूनिटमा बिक्री भइरहेको छ। भारतलाई भने माग र आपूर्तिका आधारमा दैनिक फरक मूल्यमा बिजुली बिक्री गरिन्छ। बिहीबार निर्यात गरिएको विद्युत्को औसत मूल्य नेपाली ६ रुपैयाँ ६२ पैसा प्रतियूनिट रहेको प्राधिकरणले जनाएको छ।

ढकालले भने, “त्यस दिन मात्रै करिब १० करोड ७० लाख रुपैयाँ आम्दानी भएको हाम्रो प्रणालीमा देखिन्छ। तर माग र मूल्यमा दैनिक उतारचढाव हुने भएकाले निर्यात स्थिर हुँदैन।”

बढ्दो निर्यात र क्षमता
गत वर्ष असार २८ गते नेपालले एकै दिन १७,९२० मेगावाट आवर विद्युत् निर्यात गरेर हालसम्मकै सबैभन्दा बढी निर्यात गरेको थियो। यो वर्ष असार १ गतेदेखि बाङ्ग्लादेशमा पनि नियमित विद्युत् निर्यात सुरु गरिएको हो, जुन नोभेम्बरसम्म भारतको प्रसारण लाइन प्रयोग गरेर गरिनेछ।

हाल नेपालमा करिब दैनिक ६०० मेगावाटसम्म अतिरिक्त विद्युत् निर्यात गर्न सक्ने क्षमता रहेको प्राधिकरणले जनाएको छ। रातिको समयमा यो ६५० मेगावाटसम्म पुग्न सक्ने बताइएको छ।

भारतसँग १,५०० मेगावाटको प्रसारण क्षमता भए पनि हाललाई भारतले ९४० मेगावाटसम्म मात्र विद्युत् निर्यातको अनुमति दिएको छ।

विद्युत् उत्पादन र लक्ष्य
प्राधिकरणका अनुसार हाल नेपालमा ३,५१२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने ८,४६७ मेगावाट जडित क्षमताका २८० आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्।

नेपालले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने लक्ष्य लिएको भए पनि गत असोजको बाढीले माथिल्लो तामाकोशीलगायतका ठूला आयोजनामा क्षति पुर्‍याएको कारण लक्ष्य अपूरा रहने सम्भावना रहेको बताइएको छ।

ढकालका अनुसार, “यो वर्ष १८–१९ अर्ब रुपैयाँसम्मको बिक्री सम्भावना छ। अर्को वर्षबाट भने २३ अर्ब रुपैयाँसम्म बिक्री गर्न सक्ने देखिन्छ।”

दीर्घकालीन योजना
नेपाल र भारतबीच दुई वर्षअघि भएको सम्झौताअनुसार आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्नेछ। सन् २०३५ सम्म २० हजार मेगावाट विद्युत् निर्यात क्षमता हुने प्रसारण लाइन निर्माण गर्ने लक्ष्य प्राधिकरणले लिएको छ।

यसमा एमसीसी परियोजनाको सहयोगले अन्तर्देशीय प्रसारण लाइनको विकास पनि भइरहेको छ।

नाफा र सेवा विस्तार
प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले १,९४६ गिगावाट आवर विद्युत् निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो। आयातभन्दा ५१ गिगावाट आवर बढी निर्यात गरिएको थियो।

यसै वर्ष ८ अर्ब ७ करोड युनिट विद्युत् बिक्री गरी ७६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। प्राधिकरणले करिब ६१ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *